हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ कालिकाको खेलमैदानमा आयोजित तेस्रो वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि बेलडाँडीले हात पारेको छ । शनिबार साँझ भएको अन्तिम खेलमा आयोजक कालिका युवा क्लबको टिमलाई पराजित गर्दै बेलडाँडी ५ झिलमिलाको टिमले विजय हासिल गरेको हो । खेलको निर्धारित समयसम्म दुवै टिमले एक एक गोलको बराबरीपछि पेनाल्टी सुट आउटबाट ३ गोलका विरुद्ध ४ गोल गर्दै बेलडाँडी ५ झिलमिलाको टिम प्रतियोगितामा प्रथम भएको हो । प्रतियोगिताको विजेता बेलडाँडी ५ झिलमिलाले प्रथम पुरस्कार ट्रफी, मेडल र नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आयोजक कालिका युवा क्लबले ५५ हजारमा चित्त बुझाउनु परेको छ ।
खेलाडीहरूको हौसला बढाउन बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्काको नेतृत्वमा सयौँ जना खेल प्रेमीहरू पुनर्वास स्थित कालिकाको खेलमैदानमा सहभागी भएका थिए । फागुन ८ गतेबाट सुरु गरिएको उक्त प्रतियोगितामा जम्मा ३० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । राम बहादुर तामाङको सभापतित्वमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका पूर्व खानेपानी मन्त्री बिना मगरले अन्तिम खेल खेलेका दुवै टिमलाई प्रोत्साहन स्वरूप आफ्नो व्यक्तिगत तर्फबाट दश दश हजार रुपैयाँ खाजा खर्च प्रदान गर्नुभएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने थलोका रूपमा चिनिएको यस क्षेत्रको खेलकुदको थप विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।