हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । "पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज" भन्ने मूल नारा सहित कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सञ्चालन भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा आइतबारदेखि सञ्चालन भएको चौथो शुक्लाफाँटा पर्यटन महोत्सव एक हप्तासम्म सञ्चालन हुनेछ । महोत्सवको नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले उद्घाटन गर्नु भएको छ । त्यसक्रममा उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशेषता र महत्वलाई देशविदेशसम्म प्रचारप्रसार गर्नुपर्नेमा जोडदिनु भयो । त्यस्तै, महिला नेतृ निरू देवी पालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनमा समेत जोडदिने गरी कञ्चनपुरको मजगाउँमा बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारीमा सरकारले काम शुरू गरिसकेको बताउनु भयो ।
कोभिड १९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो । पर्यटन प्रवर्द्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नु पर्ने उहाँले आवश्यकता औँल्याउनु भयो । बाह्रसिंगाको लागि निक्कै प्रसिद्ध मानिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, चितुवा, एकसिंङ्गे गैँडा, घोडगधा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर पनि देख्न पाइन्छ । वन्यजन्तु तथा चराचुरुङ्गीहरूका लागि महत्त्वपूर्ण मानिने निकुञ्जमा साल, सिसौँ र खयरको जंगल तथा ठूलो घाँसे मैदान समेत रहेको छ । त्यस्तै, रानी ताल सहित अन्य स-साना दर्जनौँ तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।
NULL