हरिश चन्द्र बाग, दैलेख, ३२ जेठ । कर्णाली प्रदेशको दैलेख जिल्ला घर भई हाल प्रवासमा रहेका नेपाली नागरिकहरुले आफ्ना जनप्रतिनिधिहरुसंग नियमित संवादलाई जारी राखेका छन् । प्रवासमा रहेका नेपालीहरुको उद्धार, क्वारेन्टीन व्यवस्थापन, आवश्यक चेकजाँच र कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा अनलाइन बैठक मार्फत संवादको क्रमलाई जारी राखिएको हो ।
सोही क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री शिव राज जोशीले कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन स्थानीय तहको प्रयास सह्रानीय रहेको भएपनि मुहानबाटै प्रणाली बिग्रिएको बताउनु भयो । स्थानीय स्तरमा खटिएका व्यक्तिहरुलाई दोष दिने ठाउँ नरहेको उहाँको भनाइ छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रदेश र संघीय सरकारले समेत उचित व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोडदिनु भयो ।
त्यस्तै, अनलाइन बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखका नेता रुद्र शाहीले क्वारेन्टीन तर्फ केही सतर्कता अपनाइए पनि समुदायमा कोरोनाको जोखिम बढिरहेको बताउनु भएको छ । उहाँले प्रवासमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित तबरले भित्रिन अनुरोध गर्नुभयो । कहिँकतै स्थानीय सरकारले गरेका कार्यहरुमा कमिकमजोरी रहेको भएपनि सकारात्मक पक्षलाई समेत विश्लेषण गर्नुपर्नेमा उहाँको जोड छ ।
नेपाल जनसम्पर्क समिति भारत, केन्द्रीय खेलकुद सचिव गोविन्द थापाले दुल्लु नगरपालिका सहित दैलेख जिल्लाभरका स्थानीय तहहरुमा पिसिआर मेसिनको व्यवस्थापनका विषयमा चाँसो राख्नुभएको छ । अहिले आरोप प्रत्यारोप तथा बिरोध जनाउने भन्दापनि कसरी सुरक्षित रहने भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँले बताउनु भएको छ । प्रवासमा रहेका नेपालीहरुको उद्धारमा आफुहरु निरन्तर खटिएको बताउँदै थापाले आवश्यक परेमा पिसिआर मेसिन र अन्य व्यवस्थापनका लागि आफूहरु बजेट संकलनमा समेत केन्द्रित हुने धारणा राख्नुभयो ।
हाम्रो नेपाल, हामी नेपालीका केन्द्रीय सदस्य बिरेन्द्र शाही, सन्तोष गिरी, बसन्त रोकाया, नेपाल तरुण दलका बीर बहादुर भण्डारी लगायतले दैलेख जिल्लामा पिसिआर मेसिन अनिवार्य रहेको बताउनु भएको छ । भारतबाट भित्रिएका प्रवासी नेपालीहरुका कारण कोरोनाको संक्रमण भित्रिएको भन्ने आरोप लागिरहेको बेला त्यसको पूर्वतयारीका लागि पहिले नै सम्बन्धित निकायलाई आग्रह गरेको भएपनि समयमा तयारी नगरेको र प्रवासमा रहेका नेपाली नागरिकलाई झण्डै दुई महिनासम्म प्रवासमै अलपत्र पारेकोले संक्रमण थप फैलिएको उहाँहरुको निष्कर्ष छ । अझैपनि धेरै नागरिक प्रवासमा रहेको उहाँहरुको भनाइ छ ।
यसैबीच, दैलेखको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले ५० शयाको आइसोलेशन निर्माण र पिसिआर मेसिन खरिदका लागि नगरपालिकाले प्रकृया अगाडि बढाएको बताउनु भएको छ । आइतबार बसेको कार्यपालिका बैठकले १ हप्ता भित्र सूचना जारी गर्ने र अन्य प्रकृया थाल्ने तथा २ हप्ता भित्रै पिसिआर मेसिन सञ्चालनका लागि द्रुत गतिमा कार्य थालनी गर्ने निर्णय गरेको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, २० लाख पहिला र ९ लाख जति अहिले गरी २९ लाख रकम प्रदेश सरकारबाट दुल्लु नगरपालिकाले सहयोग प्राप्त गरेको छ । तर संघीय सरकारबाट हालसम्म सहयोग प्राप्त भइनसकेको उहाँले बताउनु भयो । दुल्लु नगरपालिकाले धेरै गरेको छ भन्न पनि नमिल्ने र केही गरेको छैन पनि भन्न नमिल्ने गरी आफुहरु निरन्तर क्रियाशील रहेको नगर प्रमुख भण्डारीले बताउनु भएको छ ।