कञ्चनपुर, १७ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका दुई वटा वडाहरूले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको ९० घण्टे आधारभूत कम्प्युटर तालिम मंगलबार औपचारिक रूपमा समापन गरिएको छ । बेलडाँडी गाउँपालिका वडा नं. १ र वडा नं. ५ को सहयोगमा आयोजित तालिममा दुवै वडाबाट ३०/३० जना गरी कुल ६० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । एन.बी. कम्प्युटर इन्स्टिच्यूट एण्ड कम्युनिकेशन र एन.बी. ट्रेडिङ्ग कम्युनिकेशन सेन्टरद्वारा तालिम सञ्चालन गरिएको हो ।
कम्प्युटर साक्षरतामा वृद्धि गर्दै विद्यार्थीहरूलाई सूचना प्रविधिमा प्रवीण बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो । सहभागीहरूलाई टाइपिङ, माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइन्ट, इन्टरनेटको प्रयोग, इमेल सञ्चालन लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको तालिम संयोजक तथा प्रशिक्षक जगदीशचन्द्र बागले जानकारी दिनुभयो ।
तालिम समापन समारोहमा वडा नं. १ का वडाध्यक्ष गजबहादुर बिष्ट र वडा नं. ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । दुवै वडाध्यक्षहरूले कम्प्युटरजस्तो अत्यावश्यक प्रविधिमा युवाहरूलाई दक्ष बनाउने प्रयासमा स्थानीय तहबाट यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा अतिथिका रूपमा उपस्थित वडा नं. १ का वडा सदस्यद्वय गौरीदेवी उपाध्याय र श्यामबहादुर रावलले समेत बोल्दै यस्ता सीपमूलक तालिमले ग्रामीण नवयुवाहरूको भविष्य निर्माणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरूको अनुभव पनि प्रस्तुत गरिएको थियो । उनीहरूले तालिमबाट आफूहरूमा आएको सीप र आत्मविश्वासले भविष्यप्रति आशावादी बनाएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा सहभागीहरूमध्ये कोहीले भविष्यमा कम्प्युटर शिक्षक बन्ने सपना देखेका छन् भने कोहीले अनलाइनबाट आम्दानी गर्ने लक्ष्य लिएका छन् ।
तालिम समापन कार्यक्रममा सहभागी पत्रकार (एन.बी. मिडिया नेटवर्कका अध्यक्ष तथा प्रधान सम्पादक) हरिश्चन्द्र बागले प्रशिक्षार्थीहरूलाई प्रेरणादायी सन्देश दिँदै भन्नुभयो, “९० घण्टे कम्प्युटर तालिम तपाईंहरूका लागि प्रारम्भिक यात्रा हो, गन्तव्य होइन । कम्प्युटर अहिलेको युगको आवश्यकता, अवसर र सम्भावनाको ढोका हो । तालिम सकियो, अभ्यास नछोड्नुस् । सीपलाई व्यावहारिक जीवनको बाटो बनाउनुहोस् । सपना देख्नुस्, तर खाली नबस्नुस् । कम्प्युटर तपाईंहरूको हतियार हो, जुन सही प्रयोगमा शक्ति हुन्छ, दुरुपयोगमा समयको नास ।”
रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा आयोजित समापन कार्यक्रमको अन्त्यमा तालिम संयोजकद्वारा धन्यवाद ज्ञापन गर्दै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको सफल समापनसँगै सहभागीहरूमा प्रविधिप्रति चासो र सीपप्रतिको विश्वास झनै बढेको देखिएको छ ।