केशव भट्ट, कञ्चनपुर, १७ असार । कञ्चनपुरको लालझाडी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य सम्बन्धी २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण शैलेश्वरी कञ्चनपुरको आयोजनामा र लालझाडी गाउँपालिकाको समन्वयमा सो तालिम सम्पन्न गरिएको हो ।
सोमबार आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले तालिमको उद्देश्य र उपलब्धि प्रस्तुत गर्दै सहभागीहरूलाई प्राकृतिक तथा मानवीय विपद्का अवस्थाहरू बुझ्न, मूल्याङ्कन गर्न, तयारी गर्न तथा उद्धार र राहत कार्यमा व्यावहारिक सीप प्रदान गरिएको जानकारी दिए ।
तालिममा २५ जना स्थानीय युवायुवतीको सहभागिता रहेको थियो । प्रशिक्षण अवधिभर सहभागीहरूलाई सशस्त्र प्रहरीका दक्ष प्रशिक्षकहरूले प्रारम्भिक प्राथमिक उपचार, आगलागी नियन्त्रण, खोज तथा उद्धार (Search and Rescue), सुरक्षित शिविर व्यवस्थापन, सरसफाइ, स्वच्छता तथा खानेपानीको व्यवस्थापन सम्बन्धी व्यावहारिक अभ्यास गराएका थिए । साथै, मोक ड्रिल (Mock Drill) समेत गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् व्यवस्थापनमा समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्न यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने बताउँदै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानालाई ५ थान लाइफ ज्याकेट हस्तान्तरण गरे ।
समारोहका सभापति अध्यक्ष रानाले विपद् स्वयंसेवक तालिमले स्थानीय स्तरमा प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरे । समापन अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।