हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा कञ्चनपुरको कृषि विकास फार्म सुन्दरपुरमा विशेष धान रोपाइ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ‘द आर्ट अफ लिभिङ्’ का संस्थापक एवं विश्व शान्तिदुत गुरुदेव श्रीश्री रविशंकरका शिष्य ब्रह्मचारी श्रीचैतन्यको प्रमुख उपस्थिति रहेको थियो । ब्रह्मचारी श्रीचैतन्य नेपालमा ‘द आर्ट अफ लिभिङ्’ का विभिन्न आध्यात्मिक तथा जीवनपयोगी पाठ्यक्रमहरू संचालन गर्न आउनु भएको हो । उहाँको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त रोपाइ कार्यक्रममा परम्परागत शैलीमा धान रोप्ने कार्य गर्दै कृषक समुदायप्रतिको सम्मान अभिव्यक्त गरियो ।

कार्यक्रम वैदिक मन्त्रोच्चारणसहित अन्नदाता किसान र राष्ट्र कल्याणको कामनाका साथ सुरुवात गरिएको थियो । मन्त्रोच्चारण र सकारात्मक ऊर्जा सँगसँगै यस दिवसले समाजमा सशक्त प्रेरणा फैलाउने अपेक्षा गरिएको छ । ब्रह्मचारी श्रीचैतन्यले स्वयं खेतमै पुगेर धान रोप्नुभयो । उहाँसँगै किसान, गाउँले, युवा स्वयंसेवक तथा अतिथिहरूले समेत उत्साहपूर्वक सहभागिता जनाउनु भएको थियोे । कार्यक्रममा सम्बोधन गर्दै ब्रह्मचारी श्रीचैतन्यले भन्नुभयो, “कृषि जीविकोपार्जनको माध्यम मात्रै होइन, यो हाम्रो संस्कृति, संस्कार र पहिचान पनि हो । धान अन्न मात्रै होइन, यो त जीवनको आधार पनि हो । किसानको परिश्रमले नै राष्ट्र आत्मनिर्भर र समृद्ध बन्छ ।” उहाँले युवाहरुलाई आधुनिकताको साथसाथै परम्परागत कृषि ज्ञानलाई अंगाल्दै जैविक खेती, जलस्रोतको संरक्षण तथा वातावरणप्रति उत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका दौरान ब्रह्मचारी श्रीचैतन्यले कृषकहरूसँग अन्तरक्रिया गर्दै प्राकृतिक खेती प्रविधि, विषादीरहित उत्पादन, रासायनिक मलको विकल्पको रूपमा जैविक मलको प्रयोग र स्थानीय बीउ संरक्षणको महत्वबारे समेत मार्गदर्शन गर्नुभयो । कृषि विकास फार्म, सुन्दरपुरमा आयोजित कार्यक्रमको सञ्चालनमा तालिम प्रमुख यज्ञराज जोशी, फार्म प्रमुख वासुदेव भट्टराई तथा द आर्ट अफ लिभिङ्का प्रशिक्षक शैलेन्द्र हमालको सक्रिय सहयोग रहेको थियो । उक्त कार्यक्रमले धान रोपाइको पर्वलाई मात्र नभई कृषि, आत्मनिर्भरता, सहकार्य र वातावरणीय चेतनाको सन्देश बोकेको प्रेरणादायी दिवसको रूपमा छुट्टै पहिचान स्थापित गरेको सहभागीहरूको भनाइ छ ।
