भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले वि.सं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षतामा कार्यालयमा बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउनेको सङ्ख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी ३.२ देखि ३.६ जिपिए ल्याउनेको सङ्ख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जिपिए ल्याउनेको सङ्ख्या ७२ हजार ३६२ र २.४ देखि २. ८ जिपिए ल्याउनेको सङ्ख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी छन् । उनीहरूको सङ्ख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसइई ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । एसइइमा १.६ देखि २.० जिपिए ल्याउनेको सङ्ख्या ८८ हजार ४४७, १.२० देखि १.६० जिपिए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जिपिए ल्याउनेको सङ्ख्या २ हजार २०० रहेको छ । बोर्डले यस वर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र तल्लो जिपिएमा नम्बर घट्दो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
अघिल्लो वर्षको तुलनामा समग्रमा नतिजामा उल्लेख्य मात्रामा सुधार भएको छ । यसपटक फरक हिसाबबाट अङ्ग्रेजी, गणित र विज्ञानको स्तरीकृत प्रश्न पत्रबाट परीक्षा सञ्चालन भएको, कक्षा कोठामा भएको सिकाइमा सुधार र विद्यार्थीको राम्रो पढाइका कारण नतिजामा सुधार आएको अध्यक्ष शर्माले बताउनुभयो । गत वर्ष कोभिडका कारणले कक्षाकोठामा पढ्न नपाएको र यो वर्ष नियमित पठनपाठन भएको र सम्पुर्ण नतिजामा प्रभाव पार्ने विषयले नतिजामा सुधार आएको उहाँको भनाई छ । परीक्षामा ३.६ देखि ४ जिपिए ल्याउनेको सङ्ख्या र प्रतिशत बढेको छ । गत वर्ष यो जिपिए ल्याउने १.९४ प्रतिशत थिए भने यो प्रतिशत अहिले ४.६३ छ । यसैगरी ३.२ देखि ३.६ जिपिए ल्याउनेको गत वर्षको ८.४ प्रतिशतबाट बढेर ११.३६ प्रतिशत पुगेको छ । बोर्डका अनुसार जिपिए ०. ८० देखि १ . २० ग्रेड ल्याउने ०.४५ प्रतिशत देखिएका छन् तर २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेड ०. ६६ प्रतिशत विद्यार्थीले ल्याएका थिए । जिपिए १. २० देखि १. ६० सम्ममा यस वर्ष ७.९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए । जिपिए १. ६० देखि दुईसम्म प्राप्त गर्ने यस वर्ष १८. २४ प्रतिशत छन् भने गत वर्ष २० .३० प्रतिशत थिए । जिपिए २ देखि २. ४० सम्म यस वर्ष २१ . ०९ प्रतिशतले ल्याएका छन् भने गत वर्ष २३ प्रतिशत थिए । जिपिए २. ४० देखि २. ८० सम्म ल्याउनेमा यसपटक १८. ४२ प्रतिशत छन् भने गत वर्ष १८.३१ प्रतिशत थिए । जिपिए ३ .६० देखि ४ प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यसवर्ष २२ हजार चार सय ७५ अर्थात् ४. ६३ प्रतिशत छ भने गत वर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए ।
बोर्डका अनुसार यस वर्ष नन ग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् २. ८९ प्रतिशत विद्यार्थी छन् । चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ । बोर्डका सदस्य सचिव अर्यालले बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्ने जानकारी दिनुभयो । बुधबार नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटि सुधार्न भन्दै आजका लागि बैठक सारिएको थियो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो । २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
यसरी हेर्न सकिन्छ नतिजा :
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।