हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले नव प्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत सञ्चालन गरेको ‘पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना’ को प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई सुदूरपश्चिम प्रदेशको सहयोगमा लालझाडी गाउँपालिकाको कार्यालयले आइतबार गाउँपालिकाको सभा हलमा आयोजना गरेको प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रममा परियोजनाको अवधिमा गरिएका कार्यहरूको प्रगति समीक्षा गरिएको लालझाडी गाउँपालिका शिक्षा शाखाका प्रमुख एवं उक्त परियोजनाका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिनुभयो ।
पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाका लागि २०७९ वैशाख ३० गते हस्ताक्षर गरिएको थियो । २०८० असार २० गतेसम्म परियोजना सम्पन्न गर्नु पर्ने मिति तोकिएको थियो । रु. एक करोड ४० लाख कोषको र रु. ६० लाख गाउँपालिकाको गरी जम्मा रु. दुई करोड रकम परियोजनाको कुल बजेट रहेको वरिष्ठ उद्यम विकास सहजकर्ता नरेश प्रसाद भट्टले जानकारी दिनुभयो । परियोजना अवधिभर रु. १ करोड ७२ लाख ४१ हजार ३० रकम खर्च भुक्तानी भएको बताइएको छ । रु. ८ लाख ७८ हजार ४९७ रकम भने परियोजनाको भुक्तानी दायित्वमा रहेको उहाँले बताउनु भयो । सो परियोजनाबाट लालझाडी गाउँपालिकाका विभिन्न ७ वटा विद्यालयका ५०० जना विद्यार्थीहरू र ६ वटै वडाका ३०० जना बेरोजगार युवाहरू लाभान्वित हुनु भएको लालझाडी गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले दाबी गर्नुभयो ।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा आयोजित उक्त प्रगति समीक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका सरोकारवाला कर्मचारीहरू, लाभग्राही विद्यालयका प्रधानाध्यापकहरू, तालिम प्राप्त युवा उद्यमीहरू तथा पत्रकार समेतको सहभागितामा गहन समीक्षा गरिएको छ । उक्त परियोजनाको प्रभावकारितालाई मूल्याङ्कन गरी परियोजनाको समयावधि थप गर्न आवश्यक रहेकोमा वक्ताहरूले जोड दिनुभएको छ । यसका अतिरिक्त हालसम्म भएका उपलब्धिहरूलाई संस्थागत गरी दिगोपना ल्याउन समेत उहाँहरूले प्रतिबद्धता जनाउनु भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण एन.बी. मिडिया नेटवर्कले गरेको थियो भने प्रगति समीक्षाको प्रस्तुतीकरण लालझाडी गाउँपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता नरेश प्रसाद भट्टले गर्नुभएको हो ।
परियोजनाको प्रगति विवरण :
परियोजनाको मुख्य उद्देश्य :
- विद्यालयमा विद्यार्थीहरूको आकर्षण, भर्ना दर, टिकाउ दर वृद्धि भई गुणस्तरीय सिकाइमा प्रभावकारिता बढाउनु ।
- परम्परागत अन्तर पुस्ता सिप हस्तान्तरण लाई बढावा दिई प्राचीन शैलीका वस्तुहरू आधुनिक तरिकाले उत्पादन गरी स्थानीय भाषा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा आय आर्जन गर्न समेत सहयोग पुर्याउने।
- पढ्दै गरेका विद्यार्थी तथा बेरोजगार युवाहरूमा उद्यमशीलताको विकासबाट नयाँ उद्यमको स्थापना गरी नयाँ व्यवसायहरू सृजना गर्नु ।
- कृषि तथा पशु जन्य उत्पादनको प्रशोधन र बजारीकरणका लागि सङ्कलन केन्द्र, प्रशोधन केन्द्रको स्थापना मार्फत मूल्य श्रृङखलाको विकास गर्नु ।
- कृषि तथा औद्योगिक उत्पादनको बजारीकरणको लागि साप्ताहिक हाट बजारको व्यवस्थापन तथा सञ्चालन गर्ने ।
- गाउँपालिकाभित्र दर्ता र सञ्चालनमा रहेका व्यवसायहरूको सफ्टवेयर मार्फत प्रमाण पत्र तयारी तथा अनलाइन अभिलेख व्यवस्थापन हुने ।
परियोजनाका क्रियाकलापहरू :
- साझेदारी विकास कोष कार्यक्रम कार्यान्वयन समिति बैठक
- विद्यालयमा व्यवसाय सचेतना अभिमुखीकरण तालिम – ७ वटा विद्यालयमा
- बेरोजगार युवालाई उद्यमशीलता विकास तालिम – ३३६ जना (११ वटा तालिम)
- बाँसको बिरुवा वृक्षारोपण – २ वटा स्थानमा सरस्वती मा.वि. र बैजनाथ मा.वि.
- बाँसको सामग्री उत्पादन तालिम – १ वटा सरस्वती मा.वि.मा (४० जना विद्यार्थी १ महिने)
- मोटरसाइकल मर्मत तालिम – १ वटा लालझाडी ६ चान्देव मा १२ जना सहभागी
- सहायक प्लम्वर तालिम – १ वटा लालझाडी २ कन्जमा १२ जना सहभागी
- तरकारी खेती तालिम – ४ वटा लालझाडी १, ३ , ४ र ६ नं. वडामा जम्मा सहभागी १२६ जना
- मसला प्रशोधन तालिम – १ वटा लालझाडी ३ पर्सियामा २० जना सहभागी
- माछापालन कार्यक्रम – १ वटा लालझाडी ४ को विद्यालयमा ४ वटा पोखरीमा
- डल कुसन उत्पादन तालिम – २ वटा लालझाडी ४ र २ नं. वडामा ४८ जना सहभागी
- गाउँपालिकामा उद्योग व्यवसाय दर्ता सफ्टवेयर सञ्चालन व्यवस्थापन
- कापी उद्योग स्थापना तथा सञ्चालन – १ वटा भानु मा.वि.मा लालझाडी २
- कोसेली घर निर्माण – १ वटा सरस्वती मा.वि.मा लालझाडी ३
- हाट बजार सञ्चालन तथा व्यवस्थापन – १ वटा लालझाडी २ कन्जमा
- मसला बाली उत्पादन – हल्दि तथा अदुवाको बिउ वितरण (२ वटा विद्यालय‚ १ वटा सहकारी ‚ ३ वटा समूह)
- वृक्षारोपण तालिम – १ वटा बैजनाथ मा.वि.मा लालझाडी ४ सहभागी ३५ जना
- गमला निर्माण तालिम– १ वटा रामेश्वर मा.वि.मा लालझाडी ६ सहभागी ५० जना
- ज्ञान तथा सिकाई व्यवस्थापन – १ पटक
- परियोजनाको डकुमेन्ट्री तयार– १ पटक
- प्रगति समीक्षा– २ पटक
- अनुगमन उपसमितिबाट कार्यक्रमको अनुगमन
कार्यक्रम सञ्चालन तथा सम्पादनमा देखिएका चुनौतीहरू :
- लालझाडीको भौगोलिक कठिनाइले गर्दा श्रोत साधन तथा श्रोत व्यक्तिहरू जुटाउनमा कठिनाइ ।
- कार्यान्वयनको चरणमा सबै पक्षका बिचमा साझा बुझाई तयार गर्न नसक्दा केही असहज वातावरण सृजना ।
- लक्षित समुदायको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा दैनिक मजदुरी गर्ने व्यक्ती तालिममा सहभागी भई व्यवसायबाट कमाई गर्ने बेला सम्म परिवारको लालन पालन गर्नु पर्ने बाध्यताले गर्दा सहभागी गराउन नसक्नु ।
- युवाहरू मौसमी रोजगारीका लागि भारत तिर पलायन हुनु ।
- उद्यमशील संस्कृतिको अभाव
सिकाइ :
- कार्यक्रमलाई एकीकृत प्याकेजको रूपमा बनाएर १ वडा तथा बस्तीबाट सुरु गरेको भए नमुनाको रूपमा स्थापित हुन सक्ने कुरा महसुस गरियो ।
- सबै विद्यालयलाई समेट्नु भन्दा एक या दुई वटा विद्यालयमा परियोजनाका क्रियाकलापहरू केन्द्रित गरेको भएमा अझ उपलब्धि हेर्न लायक हुने कुराको जानकारी भयो ।
- लगन र निरन्तरको मेहनत भएमा काम नलाग्ने भनेर छोडेको ठाउँमा समेत आम्दानी गर्न सकिने रहेछ । जस्तै: बाँझो रहेको बगरमा बाँस वृक्षारोपण‚ बाँझो रहेको सुख्खा डाँडामा पोखरी निर्माण गरी माछापालन ।
उपलब्धिलाई संस्थागत गर्न चाल्नु पर्ने कदम⁄ सल्लाह सुझाव
- तालिम प्राप्त सबै व्यक्तिलाई दर्ताका लागि प्रोत्साहित गर्ने ।
- कोसेली घरको उचित व्यवस्थापन तथा लालझाडीका व्यवसायीले उत्पादन गरेको सबै बस्तुहरूको उपलब्धताका लागि पहल तथा समन्वय गर्ने।
- हाट बजार व्यवस्थापन समिति गठन तथा हाट बजारलाई नियमित रूपमा सञ्चालनमा ल्याउने ।
- उत्पादन हुने मसलालाई लालझाडी अर्ग्यानिक मसला नामाकरण गरी लेबलिङ्ग तथा प्याकेजिङ्ग गरेर बजारीकरण ।
- परियोजना सञ्चालन भएका विद्यालयहरूमा सञ्चालित कार्यक्रम अनुसारको पाठ्यक्रम तयार गर्नका लागि पहल ।
- विद्यालयमा सञ्चालित कार्यक्रमहरूको आय आर्जनको छुट्टै कोष तयार गरी विद्यार्थीहरूलाई पढ्दै कमाउँदैमा सहभागी गराई आवश्यक प्रोत्साहन गर्ने
- उत्पादित बस्तुहरूको बजारीकरणका लागि पहल ।
- आवश्यकता अनुसार गुणस्तर सुधारका लागि थप सीप अभिवृद्धि ।
- व्यवसायका लागि आवश्यक नवीनतम प्रविधिका लागि पहल तथा समन्वय ।
- यस वर्षको उपलब्धिलाई अनुसरण गरी अन्य विद्यालय र समुदायमा पनि उपलब्धिमूलक देखिएको पेसा तथा व्यवसायलाई सुरुवातका लागि पहल गर्ने ।
- नवप्रवर्तनको विषय तथा क्षेत्र हेर्नको लागि गाउँपालिकामा निश्चित एक विषयगत शाखालाई जिम्मेवारी तोक्नु पर्ने ।