प्रकाश भट्ट, कञ्चनपुर । एनप्याब्सन कञ्चनपुरको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता भएको छ। गड्डाचौकी स्थित भुवनेश्वरी विद्या मन्दिरमा शनिबार उक्त प्रतियोगिता भएको हो । एनप्याब्सन कञ्चनपुरले आयोजना गरेको प्रतियोगिता चार तहमा आयोजना गरिएको थियो । जसमा आधारभूत तह 'क' मा १६ वटा विद्यालय र आधारभूत तह 'ख' मा पनि १६ वटा विद्यालयको सहभागिता रहेको थियो भने माध्यमिक तह 'क' मा १० र माध्यमिक तह 'ख' मा ३ वटा विद्यालय गरी १३५ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएको कार्यक्रमका सञ्चालक तथा एनप्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले जानकारी दिएका छन् ।
माध्यमिक तह 'क' हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत विज्डम एकेडेमी बेलौरी प्रथम, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी द्वितीय, सञ्जीवनी शुक्लाफाँटा तृतीय तथा लिटिल बुद्ध एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेको छ भने माध्यमिक तह 'ख अन्तर्गत मर्निङ ग्लोरी सेकेण्डरी स्कुल प्रथम, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी द्वितीय र लिटिल बुद्ध एकेडेमी तृतीय स्थान प्राप्त गर्न सफल भएको छ । त्यस्तै उक्त प्रतियोगिताबाट आधारभूत तह 'क' मा मोडर्न पब्लिक स्कुल प्रथम, श्री कृष्ण एकेडेमी दैजी द्वितीय, नवज्योति स्कुल बेलडाँडी तृतीय तथा लिटिल बुद्ध एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेको छ भने आधारभूत तह 'ख' सगरमाथा शिक्षा एकेडेमी बेलडाँडी प्रथम, युनाइटेड पब्लिक स्कुल द्वितीय, मर्नीङ् ग्लोरी सेकेण्डरी स्कुल तृतीय तथा विज्डम एकेडेमी बेलौरीले सान्त्वना स्थान प्राप्त गरेको छ।
एनप्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष झंकर राज जोशीले कार्यक्रममा बोल्दै एनप्याब्सनले यस्ता प्रतियोगिताहरू निरन्तर गरिरहेको बताएका छन् । यस्ता प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकाशमा सेवा पुग्ने उनको भनाई रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले विद्यार्थीले सिकाई किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्नेमा जोड दिएका छन् । यसै उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए । साथै अध्यक्ष जोशीले यस्ता प्रतियोगिता तथा कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिबद्धता समेत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले एनप्याब्सन कञ्चनपुरले विद्यार्थीको हौसला बढाउने कार्य निरन्तर गरिरहेको भन्दै प्रशंसा गरेका छन् । एनप्याब्सन कञ्चनपुरका सह-सचिव नरेन्द्र बहादुर महताले यस्ता प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकाशमा अहम् भूमिका खेलेको बताएका छन् । भुवनेश्वरी विद्या मन्दिरकी सह-प्रधानाध्यापक भुवनेश्वरी चन्दले यो प्रतियोगिताले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको बताएकी छन् । कार्यक्रमका अधिकांश वक्ताहरूले एनप्याब्सन कञ्चनपुरले शैक्षिक क्यालेन्डर बनाएर नियमित रूपमा विद्यार्थीमुखी कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यालयलाई ट्रफी सहित प्रमाण पत्र वितरण गरिएको छ भने प्रतियोगितामा सहभागी विद्यालयलाई समेत सहभागिताको प्रमाण पत्र वितरण गरिएको एनप्याब्सन कञ्चनपुरका जिल्ला सचिव भट्टले जानकारी दिएका छन् । उक्त कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष गगन सिंह धामी र एनप्याब्सनका सुदूरपश्चिम प्रदेश सचिव वीर बहादुर चन्दको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा ३०० जना भन्दा बढी विद्यार्थी तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो ।