हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ जेठ । निड्स नेपालले बिएमजेड केकेएस जर्मनीको आर्थिक सहयोगमा लैंगिक समता तथा समानताको प्रवर्द्धन गर्दै विपन्न वर्गको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने कार्यक्रम अन्तर्गत बेलौरी नगरपालिकाका दुई वडाका आठ सामुदायिक विद्यालयमा बालविकास केन्द्रमा प्रयोग हुने शिक्षण सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ५ का चार र बेलौरी नगरपालिका वडा नम्बर ९ का चार गरी जम्मा आठ विद्यालयमा बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले ६२ प्रकारका खेल तथा सिकाइ सामग्रीहरू हस्तान्तरण गरिएको परियोजना संयोजक मिन बहादुर हुड्केले जानकारी दिनुभएको छ ।

सामग्री वडा नं ५ का वडाध्यक्ष लालबहादुर चौधरी र वडा नं ९ का वडाध्यक्ष किसनसिंह रानाले आआफ्ना वडाका लक्षित विद्यालय परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको छ । वडाध्यक्षहरूले हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बालविकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि सामग्रीहरूको सदुपयोग गर्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो । साथै, बालबालिकाको सिकाइ उपलब्धिमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता सहयोगका लागि निड्स नेपाल तथा सहयोगी संस्था बिएमजेड केकेएस जर्मनीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा निड्स नेपालका अध्यक्ष दुर्गा खरेल लगायतको उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका सामग्रीहरू बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरूको सिकाइ उपलब्धि हासिल गर्न सहयोगी हुने निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले विश्वास व्यक्त गर्नुभयो ।

सामग्री प्राप्त गर्ने विद्यालयहरूः
बागेश्वरी आधारभूत विद्यालय
कालेश्वर आधारभूत विद्यालय
कृष्णप्रसाद आधारभूत विद्यालय
जननमुना माध्यमिक विद्यालय
गोरखनाथ माध्यमिक विद्यालय
सिद्धकेदार आधारभूत विद्यालय
शुक्लाफाँटा आधारभूत विद्यालय
त्रिभुवन माध्यमिक विद्यालय