हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ असार । शुक्रबारदेखि देशभर मनसुन सक्रिय भएपछि लगातारको वर्षाले विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटनाहरू बढेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार असार ६ गतेदेखि मनसुन प्रणाली पूर्ण रूपमा सक्रिय बनेको छ, जसले गर्दा देशका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । महाशाखाले शुक्रबार जारी गरेको तीन दिने पूर्वानुमान बुलेटिन अनुसार आगामी केही दिन देशभर आंशिकदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने अनुमान गरिएको छ । विशेष गरी काेशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
वर्षाका कारण पहाडी तथा तराईका दर्जनौँ सडकखण्ड अवरुद्ध भएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा पहिरोले सडक यातायातमा असर पारेको छ भने तराईका केही क्षेत्रहरूमा डुबानसम्बन्धी खबरहरू आइरहेका छन् । जल तथा मौसम विज्ञान विभागले नदी किनारमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले अत्यधिक वर्षाका कारण बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । मौसमविद्हरूका अनुसार भारतको बिहार, उत्तर प्रदेश हुँदै आउने मनसुनी न्यून चापीय प्रणाली नेपालको तराई, मध्यपहाडी र हिमाली क्षेत्रतर्फ सर्ने क्रमले वर्षा अझ तीव्र हुन सक्ने देखिन्छ ।
सतर्कता र पूर्वतयारी
सङ्घीय सरकार, सुरक्षा निकाय र विपद् व्यवस्थापन कार्यालयहरूलाई सतर्क रहन भनिएको छ । स्थानीय सरकारहरूलाई वर्षासँगै आउने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन भनिएको छ । हालको मनसुन प्रणालीले देशभर लगातार वर्षा गराइरहेको छ । आगामी केही दिन अझै भारी वर्षा हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अपनाउन जरुरी छ ।
नागरिकलाई सुझाव
पहिरोको सम्भावना रहेको क्षेत्रबाट यथाशक्य टाढा बस्नु।
नदी तथा खोलानालाको किनारमा राति नबस्नु ।
डुबानको जोखिम भएको क्षेत्रबाट सुरक्षित स्थानतर्फ सर्नु ।
स्थानीय सरकार वा सुरक्षाकर्मीबाट प्राप्त सूचना अनुसार व्यवहार गर्नु ।
विभागको वेबसाइट [https://dhm.gov.np/mfd/#/weather/three-days-bulletin/648] मा तीन दिने मौसम पूर्वानुमानलगायत अत्यावश्यक सूचना प्रकाशित गरिएको छ ।