हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ असार । बेलडाँडी पर्यटन प्रवर्द्धन समितिले आर्थिक वर्ष २०८१/८२ को आय-व्यय विवरण सार्वजनिक गरेको छ । समितिका अनुसार स्थानीयको माया, साथ र स्वस्फूर्त सहयोगबाट पर्यटन प्रवर्द्धनसँग जोडिएका महत्वपूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिएका छन् । समितिका अध्यक्ष गोकर्ण जोशीका अनुसार यस वर्षको मुख्य उपलब्धिमा पौष १५ मा आयोजित विशेष सांस्कृतिक कार्यक्रम, ४ वटा ठूला ट्री-गार्ड निर्माण, बेलडाँडी एकता स्तम्भ र ऐतिहासिक स्मारक निर्माण रहेका छन् ।
समितिको विवरणअनुसार सो अवधिमा जम्मा रु. ९३,४४६ स्वस्फूर्त आर्थिक सहयोग संकलन भएको थियो भने कुल खर्च रु. १,४५,८८२ पुगेको छ । खर्च विवरणमा पौष १५ विशेष सांस्कृतिक कार्यक्रममा रु. २०,३५०, ट्री-गार्ड निर्माणमा रु. १३,३१७, एकता स्तम्भ र स्मारक निर्माणमा रु. १,०८,६७२ तथा अन्य प्रशासनिक र मसलन्द खर्च समावेश गरिएको छ । यसरी संस्थाको कुल दायित्व अहिले रु. ५२,४३६ बाँकी रहेको समितिले जनाएको छ ।
शनिबार समितिको बैठक बसेर उक्त विवरण अनुमोदन गरिएको हो । अध्यक्ष जोशीले बेलडाँडीबासीहरूलाई निरन्तरको साथ, सद्भाव र विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक सहभागिता र सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभयो । बेलडाँडी पर्यटन प्रवर्द्धन समितिले स्थानीय इतिहास, संस्कृति र सामुदायिक पहिचान जोगाउनका लागि गरिरहेको अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ ।
