तमान सिंह गुरुङ / हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ भदौ । सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलानालामा पानीको बहाव बढेको छ । दोधाराचाँदनी भएर बग्ने जोगबुढा नदीमा पानीको सतह बढेसँगै तटबन्ध फुटेर नदी गाउँ पस्दा दोधाराचाँदनी नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । जोगबुढा नदीको पानी गाउँ पस्दा वडा नम्बर ८ रामपुरे टापु र जर्गा टोलका करिब २५ घरपरिवारका ७० जना स्थानीय बासिन्दा जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित राखिएका छन् । त्यस्तै, वडा नम्बर ३ पटराखल्ला टोलका १५ घरपरिवारका ५५ जना स्थानीय बासिन्दा जमुना आधारभूत विद्यालयमा सारिएको छ ।
दोधाराचाँदनी नगरपालिका वडा नं. १० मा रहेको सशस्त्र प्रहरी बल (बिओपी) सुन्दरनगरमा कार्यरत २३ जनालाई ओमकार माध्यमिक विद्यालयमा, वडा नं. ७ मा रहेको सशस्त्र प्रहरी बल (बिओपी) कञ्चभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्रको भवनमा र शान्ति टोलका १२ घरपरिवारका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ ।
यसैक्रममा सोमबार दिउँसो कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीको कमाण्डमा थप १५ जनाको प्रहरी टोली उद्धार तथा अनुगमन कार्यका लागि खटिएको छ । प्रहरी टोलीले प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाइरहेको जनाइएको छ । प्रशासनले स्थानीयहरूलाई उच्च जोखिम क्षेत्रबाट टाढा रहन र आवश्यक परेमा तत्काल उद्धारको लागि सम्पर्क गर्न सतर्क रहन आग्रह गरेको छ ।
अविरल वर्षाका कारण कञ्चनपुरकै भीमदत्त नगरपालिका वडा नम्बर १५ तल्लो गोबरियामा बस्ने जयन्ती बोहराको भैँसी गोठ भत्केको छ । यसअघि, भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेला क्षेत्र पनि डुबानमा परेको थियो । सेन्सोरियल स्कुल डुबानमा परेपछि वरपरका घरमा पानी पसेको छ । त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला क्षेत्रका घरहरूमा भुजेला खोलाको पानी पसेको छ । प्रहरी र जनप्रतिनिधि र स्थानीय बासिन्दा सहितको उद्धार टोली प्रभावित स्थलमा खटिएको बताइएको छ ।
कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ । कञ्चनपुर स्थित महाकाली नदीमा सोमबार बिहान १० बजे पानीको बहाव १ लाख २८ हजार ५६० क्युसेक पुगेको थियो भने अपराह्न ४:४० बजेको समयमा २ लाख ७१० पुगिसकेको छ । यस कारण नेपाल-भारत सिमानामा रहेको बनबासा पक्की पुलमा चार पाङ्ग्रे र तिन पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । प्रशासन र सुरक्षा निकायहरूले स्थानीयवासीलाई उच्च जोखिम क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र आवश्यक परेमा तत्काल उद्धारको लागि सम्पर्क गर्न सतर्क रहन आग्रह गरेका छन् ।