हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० भदौ । नेपालमा हालै Gen-Z को नाममा भएको आन्दोलनमा घुसपैठ भएपछि भड्किएका हिंसात्मक गतिविधिले ७२ जनाको ज्यान गएको पुष्टि भएको छ । यस घटनामा गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुर जिल्ला कमिटीले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्यले नि:शुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ । एमालेले आन्दोलनको आवरणमा पार्टीसहित प्रमुख दलका कार्यालय, सरकारी संरचना र नेताहरूका निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडको कडा निन्दा गरेको छ ।
विज्ञप्ति अनुसार एमाले पोलिटब्युरो सदस्य निरूदेवी पाल, प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावल, पूर्व जिल्ला अध्यक्ष सुरेन्द्र बिष्टलगायत नेताहरूका घरमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको छ । त्यस्तै, नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री रमेश लेखक, प्रदेश सभा सदस्य मधु भारती, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगर प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक र नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश रावललगायतको घरमा समेत आगजनी भएको उल्लेख गरिएको छ ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, सिंहदरबार, संसद भवन, राष्ट्रपति भवनदेखि प्रदेश र स्थानीय तहका संरचनासमेतमा आक्रमण भई खरबौँ मूल्य बराबरको सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त भएको एमाले कञ्चनपुरले जनाएको छ । हजारौँ कैदीबन्दीलाई जेल तोडफोड गरी भगाइएकाले समाजमा त्रासदीमय वातावरण सिर्जना भएको पार्टीको आरोप छ ।
जिल्ला कमिटीका अध्यक्ष लक्ष्मी बुढा र सचिव पल्लब राज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा गम्भीर खलल पुगेको छ, अतः यस्ता आपराधिक गतिविधिमा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनको कठघरामा उभ्याइनुपर्छ । साथै मुलुकमा व्याप्त भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि शक्तिशाली उच्चस्तरीय आयोग गठन हुन जरुरी छ ।”
एमाले कञ्चनपुरले हाल प्रतिनिधि सभा विघटन भई अन्तरिम सरकार गठन भएकाले मुलुक संवैधानिक संकटतर्फ धकेलिएको टिप्पणी गरेको छ । यस्तो परिस्थितिमा लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टी कार्यकर्तालाई संयमता, धैर्यता र एकतासहित सशक्त रूपमा पार्टी गतिविधिमा सक्रिय रहन आह्वान गरिएको छ ।
