हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ असोज । चाडपर्व नजिकिँदै गर्दा नेपाल-भारत सीमा नाकाहरूमा स्वदेश फर्किने प्रवासी नेपाली मजदुरहरूको चाप दिनानुदिन बढ्दो छ । भारतमा पसिना बगाएर रोजीरोटी कमाउने लाखौँ नेपाली नागरिक बर्खे खेती भित्र्याउने बेला र नवरात्र, दशैँ, तिहार जस्ता ठूला पर्व मनाउन गाउँ फर्किरहेका हुन् ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका नागरिक वर्षौँदेखि भारतीय रोजगारीमा आश्रित छन् । मौसमी कामसँगै खेतीपातीका समयमा घर फर्कने, बाँकी समयमा भारत पस्ने बाध्यता यहाँका धेरैको नियति बनेको छ । कमाइ लिएर फर्किँदा कोही उत्साहित छन् भने कोही भावुक । तर सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुको पीडा भने अझै कम भएको छैन ।

दैनिक हजारौँ नागरिक फर्किने भएकाले सुरक्षा निकाय उच्च सतर्कतामा छन् । प्रशासनले पहेँलो नम्बर प्लेट भएका भारतीय गाडीलाई नेपाली बजारमा प्रवेश रोक लगाएको छ । यात्रु ठगी वा लुटपाटमा नपर्न सकुन् भनेर सीमा नाकामा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर विक भन्नुहुन्छ, "सुरक्षा सतर्कतामा कुनै कमी हुने छैन, यात्रु सुरक्षित रूपमा घर फर्कन पाउने व्यवस्था मिलाइएको छ ।"

सुरक्षा सतर्कताका बीच फर्किएका मजदुरले गाउँ बस्तीमा चहलपहल थप्ने अपेक्षा भए पनि दीर्घकालीन समाधान भने स्वदेशमै रोजगारी सिर्जना गरेर मात्र सम्भव देखिन्छ । नेपालमै पर्याप्त अवसर भए न भारतीय रोजगारीको कष्ट सहनुपर्ने थियो, न हेपाइ नै ।