कञ्चनपुर, ०२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी संयुक्त पालिका समिति कञ्चनपुर क्षेत्र नम्बर १ द्वारा आयोजित संयुक्त पालिका स्तरीय बैठक बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित भकुण्डा कालेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएको छ ।

सयौँ नेता-कार्यकर्ताहरूको उपस्थितिसहितको बैठक बेलौरी नगर सभापति विष्णुप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ । कार्यक्रममा केन्द्रीय सदस्य विजय जैरु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । साथै, केन्द्रीय संगठन, नीति तथा महिला विभागका सदस्यहरू, प्रदेश समिति, विभिन्न विभाग, कैलाली र कञ्चनपुर जिल्ला तथा निर्वाचन क्षेत्र समितिका प्रतिनिधिहरू, पालिका र वडा स्तरका पदाधिकारीहरूको समेत उपस्थिति रहेको बताइएको छ ।

बैठकमा देशको बदलिंदो राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, राजनीतिक तरलता र अस्थिरताको अवस्थाबाट देशलाई निकास दिने उपायबारे गहन छलफल गरिएको नगर सभापति विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । त्यसैगरी, आगामी संघीय निर्वाचनका लागि सर्वस्वीकार्य उम्मेदवार छनोट प्रक्रिया र जेन-जी आन्दोलनको मर्म र भावना अनुसार देशलाई प्रतिगमन, यथास्थितिवाद र प्रतिक्रियावादबाट अग्रगमनतर्फ कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा पनि विस्तृत रूपमा विचार विमर्श गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य जैरुसहित केन्द्रीय विभागीय सदस्यहरू, प्रदेश पदाधिकारी, विभागीय प्रतिनिधि, जिल्ला, क्षेत्र, पालिका र वडा तहका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बैठकले निर्वाचन लक्षित कार्यक्रम, संगठनात्मक सुधार, आचारसंहिता, आगामी रणनीति तथा पालिका र वडा समिति अधिवेशन लगायतका विषयमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । साथै, नवप्रवेशी सदस्यहरूलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको सभापति शर्माले जानकारी दिनुभएको छ ।
