हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ मंसिर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३ छोरी पर्सियास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यालय तथा सरस्वती बाल क्लबलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । अस्ट्रेलियन एड, कारितास अस्ट्रेलिया तथा कारितास नेपालको आर्थिक सहयोग र निड्स नेपालको आयोजनामा सञ्चालन भइरहेको नेपाल जिवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम (NLRP-II) अन्तर्गत शुक्रबार विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा विद्यालय तथा बाल क्लबलाई भाषण गर्ने रोस्ट्रम, माइक्रोफोन सेट, साउण्ड बक्स, वाध्यवादन ड्रम, सांस्कृतिक पोसाक, भलिबल लगायतका सामग्री हस्तान्तरण गरिएको थियोे ।सोही अवसरमा विद्यार्थीहरूद्वारा बाल विवाह न्यूनीकरण सम्बन्धी सडक नाटक प्रस्तुत गरिएको थियो भने भित्ते पत्रिकाको पनि विमोचन गरिएको थियो । सडक नाटकमार्फत बाल विवाहका नकारात्मक प्रभाव र त्यसविरुद्ध सचेत रहनुपर्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गरिएको सहभागीहरूको भनाइ छ । स्थानीय तह, विद्यालय, बाल क्लब र विकास साझेदारहरूको सहकार्यमा आयोजित उक्त कार्यक्रमले बाल विवाह न्यूनीकरण तथा बाल अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
निड्स नेपालका अध्यक्ष दुर्गा देवी खरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बालबालिकाको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई प्रदान गरिएका सामग्रीहरू सहयोगीसिद्ध सुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकासँगको समन्वयमा विकास साझेदार संस्थाहरूले गरिरहेका गतिविधिहरू प्रसंसनीय रहेको उहाँको भनाइ छ । विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले बाल अधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । चेतनामूलक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले विद्यालय र बाल क्लबको सक्रियता सराहनीय रहेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपानेले प्राप्त सामग्रीले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा ठूलो सहयोग पुग्ने बताउनु भयो । बाल क्लब संरक्षक शिक्षक धनश राज पन्तले विद्यालयमा बाल पत्रिका प्रकाशन सुरु गरिएको जानकारी दिँदै यसले विद्यार्थीको सिर्जनशीलता र अभिव्यक्ति क्षमता विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभयो । कारितास नेपालका प्रतिनिधि छेगुरा चौधरीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र समुदायस्तरमा बालमैत्री वातावरण बनाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । निड्स नेपालका अध्यक्ष दुर्गा देवी खरेलले बाल अधिकार, शिक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्न संस्था निरन्तर प्रतिबद्ध रहेको बताउनु भयो ।