हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ पुस । कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालित १६औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि शान्ति माविले हात पारेको छ । बेलौरी नगरपालिकाको आयोजनामा यही पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगिता विभिन्न खेल विधामा प्रतिस्पर्धा गराउँदै शुक्रबार समापन गरिएको हो । नगरपालिका भित्रका २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शान्ति माध्यमिक विद्यालय प्रथम, लक्ष्मी माध्यमिक विद्यालय द्वितीय र जननमुना माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अमित प्रसाद भट्टका अनुसार नगर स्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू आगामी जिल्ला तथा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गरिएको थियो । सचिवालय संयोजक तेजबहादुर चन्दले दिनुभएको जानकारी अनुसार खेलको नतिजा यस्तो छ ।
समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखि नै लुकेका खेलकुद प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले खेलकुदले अनुशासन, स्वस्थ प्रतिस्पर्धा र नेतृत्व क्षमता विकास गर्ने भएकाले पढाइसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गर्नु भयो । साथै उहाँले प्रदेश सरकार खेलकुद पूर्वाधार विकास, प्रशिक्षक व्यवस्थापन र प्रतिभावान खेलाडी उत्पादनका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यालयस्तरदेखि नै प्रतिभा पहिचान र विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गर्नु भयो । साथै उहाँले आगामी दिनमा खेलमैदान, खेल सामग्री र प्रशिक्षक व्यवस्थापनमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समापन समारोहका अवसरमा बोल्दै नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखि नै खेलकुद प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भयो । उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नु भयो । नगरपालिकाले खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धी भावना विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।