हरिश्चन्द्र बाग, कञ्चनपुर, १० माघ । ‘राष्ट्रका लागि खेलकुद; स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित बेलौरी नगर खेलकुद समितिद्वारा आयोजित बेलौरी नगरपालिका विद्यालय स्तरीय मेयर कप टि-ट्वाइन्टी क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्नुपर्नेमा जोड दिँदै प्रतिभावान् खेलाडी पहिचान र प्रोत्साहनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले विद्यार्थी तहदेखि नै खेलकुदको विकासले स्वस्थ नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेका अनुसार प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण नगर खेलकुद समितिका सदस्य तेज बहादुर चन्दले गर्नुभएको थियो ।

प्रतियोगिताको पहिलो दिन सरस्वती माध्यमिक विद्यालय बुटावारी र जनज्योति माध्यमिक विद्यालय कलकत्ताबीच भएको खेलमा जनज्योति माविले सरस्वती माविलाई ९ विकेटले पराजित गरेको छ ।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका जनज्योति माविका मुकेश विक म्यान अफ द म्याच घोषित हुनुभयो ।
आयोजकका अनुसार भोलि हुने खेलमा पहिलो खेल बिहान १० बजे लिटिल गार्डन गोकुलपुर र लक्ष्मी माध्यमिक विद्यालय जब्दियाबीच हुने छ भने दोस्रो खेल दिउँसो १ बजे महाकाली माध्यमिक विद्यालय विद्यानगर र विज्डम एकेडेमी रिछाहाबीच हुने छ ।

यसैबीच, जिल्ला स्तरीय खेलकुदका लागि नगरपालिका भित्रका क्रिकेट खेलाडीहरूबाट छनौट गर्नुपर्ने भएकोले यही माघ १२ गते खुला मञ्चमा उपस्थित भइदिन हुन खेलाडीहरूलाई अध्यक्ष न्यौपानेले अनुरोध गर्नुभएको छ ।
