हरिश्चन्द्र बाग, ललितपुर, ११ माघ । वि. सं. २०७६ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको मेयर कप प्रतियोगिता अन्तर्गत “पाँचौँ ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता” यही २०८२ फाल्गुन १ र २ गते ललितपुरमा आयोजना हुने भएको छ । प्रतियोगितामा देशभरका कराते खेलाडीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । पुरुष तर्फ ३५-४० केजी, ४०-४५ केजी, ४५-५० केजी, ५०-५५ केजी, ५५-६० केजी तथा खुला तौल समूह रहनेछ । महिला तर्फ पनि ३५-४० केजी, ४०-४५ केजी, ४५-५० केजी, ५०-५५ केजी, ५५-६० केजी तथा खुला तौल समूह समावेश गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा पुरुष खेलाडी १५० जना र महिला खेलाडी १५० जना गरी जम्मा ३०० जना खेलाडी सहभागी हुने अनुमान गरिएको छ । त्यसैगरी प्रतियोगिता सञ्चालनका लागि निर्णायक २५ जना, व्यवस्थापक २० जना, टोली प्रशिक्षक १० जना र स्वयंसेवक २५ जना गरी जम्मा ८० जना जनशक्ति परिचालन गरिनेछ ।
प्रतियोगिता सफल रूपमा सञ्चालनका लागि अनुमानित बजेट ३४ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ । बजेट अन्तर्गत निर्णायक भत्ता, स्वयंसेवक भत्ता, खेलाडी तथा प्राविधिक टोलीको खाना र बसोबास, यातायात, प्रचारप्रसार, उद्घाटन तथा समापन समारोह, नगद पुरस्कार, ट्रफी तथा मेडल, विभिन्न व्यक्तिगत सम्मान, प्रमाणपत्र, मेडिकल सेवा तथा अन्य व्यवस्थापन खर्च समावेश गरिएको छ ।
नगद पुरस्कारतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । साथै विजेता खेलाडीहरूलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ । प्रतियोगिताका क्रममा खेलाडीहरूको सुरक्षाका लागि मेडिकल सेवा तथा आवश्यक सामग्रीको व्यवस्था पनि गरिने आयोजक टोलीका देवराज महर्जनले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिकाको पहलमा आयोजना हुने यस प्रतियोगिताले राष्ट्रिय स्तरमा कराते खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान र खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजकले सम्बन्धित संघ, क्लब तथा खेलाडीहरूलाई समयमै दर्ता तथा तयारी गर्न अनुरोध गरेको छ ।