हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, १६ माघ । कञ्चनपुरको बेलौरीमा नगर खेलकुद समितिको आयोजनामा सञ्चालित विद्यालय स्तरीय मेयर कप टी ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधि वात्सल्य विद्या निकेतनले हात पारेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा वात्सल्य विद्या निकेतनले सिद्धबाबा एकेडेमीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सिद्धबाबा एकेडेमी १० ओभरमा मात्र ३० रनमै अलआउट भएको थियो । सामान्य लक्ष्य पछ्याएको वात्सल्य विद्या निकेतनले कुनै विकेट नगुमाई सहज रूपमा लक्ष्य पूरा गर्दै उत्कृष्ट प्रदर्शनका साथ जीत दर्ता गर्यो ।


प्रतियोगितामा प्रथम भएको वात्सल्य विद्या निकेतनले नगद रु ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सिद्धबाबा एकेडेमीले रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तृतीय स्थान संयुक्त रूपमा हासिल गरेका विज्डम एकेडेमी र लिटिल गार्डेन बोर्डिङ स्कुलले रु ५-५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । खेलको प्लेयर अफ द टुर्नामेन्ट तथा बेस्ट बलरको उपाधि वात्सल्य विद्या निकेतनका नीरज सिंह कार्कीले प्राप्त गरेका छन् भने बेस्ट ब्याट्स म्यानको उपाधि सोही विद्यालयका नीराजन थापालाई प्रदान गरिएको छ । उत्कृष्ट खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ । खेल सञ्चालन तथा निर्णायकको भूमिकामा दीपेन्द्र प्रसाद उपाध्याय र महेश बोहरा रहनुभएको थियो । प्रतियोगितामा बेलौरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्न सके भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । साथै नगरपालिकाले खेलकुद पूर्वाधार र विद्यार्थी खेलाडीको क्षमता विकासमा आगामी दिनमा थप लगानी र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, समापन कार्यक्रममा बोल्दै नगर खेलकुद समिति बेलौरीका अध्यक्ष रामेश्वर न्यौपानेले प्रतियोगिताको सफल आयोजनामा सहयोग गर्ने सबै विद्यालय, शिक्षक, खेलाडी, निर्णायक, सुरक्षाकर्मी तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विद्यालय स्तरमै खेलकुद संस्कृति विकास गर्नु दीर्घकालीन लगानी भएको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । समापन समारोहको स्वागत मन्तव्य नगर खेलकुद समितिका सदस्य भूपेन्द्र शाहीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण तेजबहादुर चन्दले गर्नुभएको थियो ।

कार्यक्रमकै बीचमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण समेत गरिएको थियो ।
