हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ माघ । प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्दै आएको श्री शान्ति माध्यमिक विद्यालय, बेलौरी नगरपालिका ४ शान्तिपुरको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सभ्य एवम् भव्यताका साथ सम्पन्न भएको छ । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख चौधरीले विद्यालयको शैक्षिक गुणस्तर, प्राविधिक शिक्षाको महत्त्व र सीपमूलक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउने विषयमा जोड दिनुभयो । उहाँले शान्ति माध्यमिक विद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गरेर स्थानीय तहमा सकारात्मक उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै नगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । त्यस अवसरमा अभिभावकहरूले विद्यालयले दिएको शैक्षिक वातावरण, अनुशासन र सीपमूलक शिक्षाप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, प्राविधिक धारतर्फको विस्तार, विद्यार्थी भर्ना, शैक्षिक अनुशासन तथा आगामी योजनाबारे जानकारी गराउनु भयो । उहाँले अभिभावक, शिक्षक र स्थानीय समुदायको सहकार्यले मात्र विद्यालयलाई अझ उचाइमा पुर्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विभिन्न प्रस्तुति प्रदर्शन गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति समुदायको विश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेलेको वक्ताहरूको भनाइ रहेको छ ।
