प्रकाश भट्ट, कञ्चनपुर, २५ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, महाकाली टोलमा स्थापित टेक बहादुर ओली स्मृति उद्यानमा क्रिकेट एकेडेमीको औपचारिक उद्घाटन गरिएको छ । जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्दको प्रमुख आतिथ्यमा एकेडेमीको उद्घाटन गरिएको हो । वर्तमान समयमा युवाहरू लागूऔषध तथा विभिन्न दुव्र्यसनतर्फ आकर्षित हुने चुनौती बढिरहेको अवस्थालाई उल्लेख गर्दै, खेलकुद गतिविधिले युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने र दुव्र्यसन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले युवालाई खेलकुदमार्फत सशक्त बनाउँदै स्वस्थ समाज निर्माण गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो । क्रिकेट एकेडेमी स्थापनाले प्रतिभावान युवा खेलाडीलाई सही दिशा, मार्गदर्शन र अवसर प्रदान गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “टेक बहादुर ओली स्मृति उद्यानमा क्रिकेट एकेडेमीको औपचारिक उद्घाटन सम्पन्न भएको छ । यस एकेडेमीले क्रिकेटसँगै भलिबल र अन्य खेलका खेलाडीहरू उत्पादन गर्ने लक्ष्य राखेको छ ।” वडा अध्यक्ष थापाले आजका युवालाई गलत बाटोबाट जोगाई खेलकुदमा आकर्षित गर्न यस्ता पहल आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै, आगामी दिनमा पनि वडा कार्यालयले खेल पूर्वाधार तथा खेलकुद गतिविधिमा निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र चन्दले कञ्चनपुरमा क्रिकेट खेलको विकासका लागि यस्ता आधारभूत एकेडेमीहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो । महाकाली टोलमा स्थापित यो एकेडेमीले स्थानीय युवालाई व्यावसायिक क्रिकेटतर्फ डोर्याउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिभा गाउँटोलमै लुकेको हुन्छ । त्यसलाई पहिचान गरी उजागर गर्न यस्ता पहलले ठूलो मद्दत गर्दछ । जिल्ला क्रिकेट संघको तर्फबाट आवश्यक समन्वय र प्राविधिक सहयोग निरन्तर जारी रहनेछ ।”
एकेडेमी शुभारम्भसँगै ३० जना खेलाडीलाई पोसाक वितरण गरिएको थियो । यसले युवा खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने र खेल क्षेत्रमा अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा प्राप्त हुने आयोजकहरूको भनाइ छ । वडा अध्यक्ष प्रकाश थापाले निर्वाचित भएदेखि नै वडामा डे–नाइट मेयर कपको सफल आयोजना गर्दै आएका छन् । साथै, प्रतिभावान खेलाडीहरूको हौसला अभिवृद्धि गर्न विभिन्न खेलकुद सामग्री वितरण गर्दै खेल पूर्वाधार र खेलमैत्री वातावरण निर्माणमा निरन्तर योगदान पुर्याउँदै आइरहेका छन् ।