हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्का चानदेवस्थित आरक्षपीडित शिविरमा जंगली हात्तीको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ भने उहाँकी ५५ वर्षीया हजुरआमा घाइते हुनुभएको छ । गएराति करिब ०२:३० बजेको समयमा जंगली हात्ती शिविरभित्र प्रवेश गरी किसन सिंह साउदको घरमा आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट जोगिन घरबाट भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद र ६ वर्षीया छोरी रोजिना साउद घाइते हुनु भएको थियो ।

घटनाबारे स्थानीयले राति करिब ०३:३० बजेको समयमा प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय शंकरपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइते दुवै जनाको अवस्था गम्भीर रहेकाले टी एण्ड सी अस्पताल झलारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान करिब ०६:१५ बजेको समयमा ६ वर्षीया रोजिना साउदको नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो । घाइते पार्वती साउदको धनगढीमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

रातिको समयमा आरक्षपीडित शिविरमा पुगेको उक्त हात्तीले किसन सिंह साउदको घरका साथै अम्मर बिष्टसहित अन्य वासिन्दाका घरहरूमा समेत क्षति पुर्याएको आरक्षपीडित संघर्ष समितिका उपाध्यक्ष प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । शिविरका वासिन्दाहरू एकजुट भई ठूलो प्रयासपछि हात्तीलाई जंगलतर्फ धपाएको उहाँले बताउनुभयो । उहाँका अनुसार २०५८ साल र त्यसअघि तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित पारिएका सयौँ परिवारहरू अहिलेसम्म पनि स्थायी बसोबासको व्यवस्था नहुँदा वनजंगल, नदी तथा खोलानालाको किनारमा असुरक्षित झुपडी बनाएर बस्न बाध्य हुनुहुन्छ । जंगली जनावरको निरन्तर जोखिमकाबीच जीवन बिताइरहनु भएका आरक्षपीडितहरू पटक पटक राज्यको बेवास्ताको सिकार बन्नु परेको छ ।

घटनापछि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानासहित वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू घटनास्थलस्थित आरक्षपीडित शिविरमा पुग्नु भएको छ । उहाँहरूले पीडित परिवारसँग भेट गरी समवेदना व्यक्त गर्नुका साथै उपचार, राहत र दीर्घकालीन व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साथै जंगली जनावरको जोखिम न्यूनीकरण र आरक्षपीडितको सुरक्षित पुनर्वासबारे सम्बन्धित निकायसँग समन्वय गरिने आश्वासन दिनु भएको छ ।

सरकारले आरक्षपीडितको समस्या समाधानका नाममा अहिलेसम्म ३४ वटा समस्या समाधान आयोग तथा कार्यदल गठन गरेको भएपनि वास्तविक पुनर्वास र सुरक्षाको व्यवस्था हुन नसकेको स्थानीयको गुनासो छ । घटनापछि शिविरका वासिन्दाहरूले जंगली जनावरको नियन्त्रण, क्षतिपूर्ति र तत्काल सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरिरहनु भएको छ । यस घटनाले फेरि एक पटक आरक्षपीडित समुदायको दीर्घकालीन समस्या र राज्यको दायित्वमाथि गम्भीर प्रश्न उठाएको छ ।
