काठमाडौँ, २९ चैत । अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास, सौन्दर्यबोध र समानताको सशक्त सन्देश बोकेको ‘एम्पुटी रनवे नेपाल २०२६’ को दोस्रो संस्करण शनिबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । काठमाडौँस्थित क्लब प्लाटिनुममा आयोजित कार्यक्रममा विभिन्न कारणले अङ्ग गुमाएका पुरुष तथा महिलाहरूले कृत्रिम हातखुट्टाको सहायताले र्याम्पमा आत्मविश्वासपूर्ण प्रस्तुति दिँदा दर्शकहरू भावुक र उत्साहित बनेका थिए ।

निर्मला फाउन्डेसनको आयोजनामा चैत २८ गते सम्पन्न उक्त प्रतियोगितामा रिमा पुरी च्याम्पियन घोषित भइन् । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । रनरअपमा निर्मला परियार, गंगा पुरी, धनबहादुर महता र प्रकाश सिंह घोषित हुँदै जनही १०/१० हजार रुपैयाँ पुरस्कार जित्न सफल भए ।

फाउन्डेसनकी अध्यक्ष निर्मला भण्डारीका अनुसार कार्यक्रममा ८ जना महिला र ४ जना पुरुष सहभागी थिए । “एम्पुटी रनवे सौन्दर्य प्रदर्शन मात्र नभई आत्मविश्वास र समानताको आवाज पनि हो,” उनले भनिन्, “यस्ता कार्यक्रमले समाजमा अपाङ्गता भएका व्यक्तिप्रति रहेको दृष्टिकोण परिवर्तन गर्न मद्दत पुर्याउँछ ।”

कार्यक्रममा एम्पुटी फुटबल खेलाडीहरूको पनि सहभागिता रहेको थियो । उनीहरूको उपस्थिति र प्रस्तुति आफैँमा प्रेरणादायी बनेको आयोजकले जनाएको छ । अप्रिल महिनालाई ‘अङ्ग हानि तथा अङ्ग भिन्नता जागरूकता महिना’का रूपमा मनाइने सन्दर्भ पारेर कार्यक्रम आयोजना गरिएको हो ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक मूलधारमा स्थापित गर्न र उनीहरूको क्षमताप्रति विश्वास जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागीहरूलाई विभिन्न विधामा सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ । र्याम्पमा प्रस्तुत प्रत्येक सहभागीले आफ्नो संघर्ष, साहस र आत्मबललाई प्रस्तुत गर्दै ‘अपाङ्गता कमजोरी होइन’ भन्ने सन्देश स्पष्ट रूपमा प्रवाह गरेका थिए ।
