कञ्चनपुर, २९ चैत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुर जिल्ला समितिको आयोजनामा ४७ औँ शिक्षक दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । “जागौँ ! जगाऔँ !! अधिकार रक्षा गर्न अगाडि बढौँ !!!” भन्ने आदर्श वाक्यका साथ आयोजित कार्यक्रममा सामाजिक उत्तरदायित्व, सङ्गठनात्मक सुदृढीकरण तथा शिक्षक अधिकारका विषयमा सशक्त सन्देश दिइएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी कार्यक्रमको सुरुवात गरिएको सङ्गठनका जिल्ला अध्यक्ष उत्तम विष्टले जानकारी दिनुभयो । सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष महेश पन्तलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । त्यस्तै, कार्यक्रम अन्तर्गत ‘ट्रेड युनियन अधिकार, वर्तमान चुनौती र आगामी कार्यदिशा’ विषयक अन्तर्क्रिया समेत सम्पन्न गरिएको थियो ।

अन्तर्क्रियामा सहभागीहरूले नीतिगत अस्पष्टता, कार्यान्वयनको कमजोरी तथा शिक्षकका व्यावसायिक सुरक्षासम्बन्धी विषयहरू उठान गर्दै स्पष्ट रणनीति आवश्यक रहेको बताउनु भएको छ । अध्यक्ष उत्तम विष्टले सङ्गठनलाई समयानुकूल सुदृढ गर्दै शिक्षकहरूको साझा आवाजलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका सङ्गठनका राष्ट्रिय समिति सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज हरि प्रसाद रिजालले शिक्षक आन्दोलनले देशको शैक्षिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भन्नुभयो, “शिक्षकहरूको एकता र सक्रियताले मात्र शिक्षा क्षेत्रका चुनौतीहरूको समाधान सम्भव हुन्छ । अबको आन्दोलन अधिकार सुनिश्चिततासँगै गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्छ ।”
त्यस्तै विशिष्ट अतिथि सङ्गठनका राष्ट्रिय समिति सदस्य धनमती विष्टले शिक्षकहरूको पेसागत मर्यादा र अधिकार संरक्षणका लागि सङ्गठन अझ सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “ट्रेड युनियन अधिकारको प्रभावकारी कार्यान्वयन बिना शिक्षकहरूको समग्र विकास सम्भव छैन,” उहाँको भनाइ थियो । सङ्गठनका निवर्तमान राष्ट्रिय समिति सदस्य भवानी चन्द, नेपाल शिक्षक महासंघ कञ्चनपुरका सचिव जगदीश प्रसाद जोशी लगायतका अतिथि वक्ताहरूले पनि वर्तमान शैक्षिक चुनौती, शिक्षकको अवस्था तथा भावी कार्यदिशाबारे आफ्ना धारणा राख्दै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रमको सहजीकरण सङ्गठनका जिल्ला सचिव धनञ्जय जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष छवि पाण्डेयले राख्नुभएको थियो । यसै अवसरमा त्रिभुवन माध्यमिक विद्यालय तिलाचौरमा भर्खरै प्रधानाध्यापकमा नियुक्त राष्ट्रिय समिति सदस्य धनमती विष्टलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । समग्रमा, कार्यक्रमले शिक्षक एकता, पेसागत अधिकारको संरक्षण र सङ्गठनको भावी दिशाबारे स्पष्ट मार्ग निर्देशन गरेको आयोजकको निष्कर्ष रहेको छ ।