हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । वि.सं. २०३६ साल माघ १६ गते शहीद दिवसको अवसरमा कञ्चनपुरको बेलौरी बजारमा स्थापना भएको ऐतिहासिक सार्वजनिक संस्था शहीद दशरथ पुस्तकालयले आफ्नो १०औँ अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार आयोजित अधिवेशनले शिक्षक चन्द्रप्रसाद पोखरेल (सिपि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । लामो इतिहास बोकेको पुस्तकालयले नयाँ नेतृत्वसँगै आधुनिक र डिजिटल प्रविधिमैत्री पुस्तकालयका रूपमा अगाडि बढ्ने संकेत गरेको छ ।
अधिवेशनमा बोल्दै पुस्तकालयका सल्लाहकार, महाकाली माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष तथा पूर्व प्रधानाध्यापक प्रेमसिंह बोहराले शहीद दशरथ पुस्तकालय पुस्तक राख्ने स्थान मात्र नभई समाजमा ज्ञान, चेतना र पठन संस्कृतिको केन्द्रका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले पछिल्लो पुस्तामा पुस्तक पढ्ने बानी घट्दै गइरहेको चिन्ता व्यक्त गर्दै नयाँ पुस्तालाई पठन संस्कृतिसँग जोड्न पुस्तकालयको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी पुस्तकालयका पूर्व अध्यक्ष हर्कसिंह कुँवरले शहीदहरूको नामसँग जोडिएको संस्थाको गरिमा जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले विगतका अनुभवलाई आत्मसात गर्दै समयअनुकूल योजना र प्रविधिसँग जोडेर पुस्तकालयलाई नयाँ उचाइमा पुर्याउन नयाँ कार्यसमिति सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

अधिवेशन सञ्चालनका लागि तारामणि न्यौपानेको संयोजकत्वमा गंगाप्रसाद रिजाल र चन्द्रदेव रिजाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिले अध्यक्षमा चन्द्रप्रसाद पोखरेल, उपाध्यक्षमा डिल्लीप्रसाद खरेल, सचिवमा सुरज श्रेष्ठ, सहसचिवमा अशोक पाण्डेय, कोषाध्यक्षमा नरेश पन्त तथा सदस्यहरूमा मीना कुँवर, चित्रकला गैरे, चन्द्रसिंह विष्ट, डम्बर चन्द र माधव पौडेललाई सर्वसम्मत रूपमा चयन गरेको घोषणा गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै पुस्तकालयलाई आधुनिक, व्यवस्थित र डिजिटल प्रविधिमैत्री लाइब्रेरीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पुस्तकालयको भौतिक संरचना सुधार, पुस्तक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने, विद्यार्थी तथा युवापुस्तालाई आकर्षित गर्ने शैक्षिक र साहित्यिक गतिविधि सञ्चालन गर्ने तथा सरोकारवाला निकायसँग समन्वय गरेर दीर्घकालीन योजना अघि बढाइने बताउनुभयो । उहाँले पुस्तकालयलाई किताब पढ्ने स्थानमा सीमित नराखी अध्ययन, अनुसन्धान, साहित्यिक बहस र सामाजिक चेतनाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष मधुविलास ढुङ्गानाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिले पुस्तकालयलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक पुस्तकालयहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता भएको उल्लेख गर्दै सबैलाई पुस्तकालयप्रति अपनत्व महसुस गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, शिक्षक, साहित्यकार, पत्रकार तथा पुस्तकालयका आजीवन सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।










