हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ जेठ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले पत्रकारिताको मर्यादा, प्रेस स्वतन्त्रता तथा आमसञ्चार क्षेत्रको सुदृढीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार महेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २२औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सार्कीले प्रदेश सरकारले तयार पारेको आमसञ्चार विधेयकमाथि आवश्यक छलफल भइरहेको र छिट्टै प्रदेश सभामा पेश गरिने जानकारी दिनुभयो । उहाँले जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी पत्रकारिताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।
साधारण सभामा महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीले शाखाले जिल्लामा पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा पत्रकारिताको विश्वसनीयता कायम गर्न निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले पत्रकारहरूलाई एकताबद्ध भएर सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजका समसामयिक विषय, जनचासोका मुद्दा तथा स्थानीय समस्यालाई निरन्तर उजागर गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारितामा योगदान पुर्याएका पत्रकारहरूलाई सम्मान गरिएको थियो । साथै पत्रकार महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न विधामा क्रियाशील पत्रकारहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय तहहरूलाई समेत सम्मान गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाश रावल, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकारका विभिन्न संघसंगठनका प्रतिनिधिहरू, गैरसरकारी संस्था महासंघका प्रतिनिधि तथा अन्य वक्ताहरूले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता, सञ्चार क्षेत्रको चुनौती तथा पत्रकारहरूको सुरक्षाका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।
साधारण सभाको बन्दसत्रमा महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दनराज पाण्डेयले सांगठनिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मोहन बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बन्द सत्रमा गहन छलफल गरी दुवै प्रतिवेदन सर्वसम्मत पारित गरिएका छन् । अध्यक्ष मण्डलका संयोजक हरि प्रसाद जोशीका अनुसार बन्दसत्रबाट “कञ्चनपुर घोषणापत्र” जारी गर्दै २२औँ साधारण सभा सम्पन्न गरिएको हो ।

साधारणसभामा केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य मुकुन्द भण्डारी, केन्द्रीय सदस्य योगेन्द्र बलायर, प्रदेश अध्यक्ष भरत शाह, प्रदेश महासचिव शिवराज भट्ट, पूर्वउपाध्यक्ष चित्रांग थापा, पूर्व सदस्य श्याम भट्ट लगायतका अग्रज पत्रकारहरूको उपस्थिति रहेको थियो ।