कञ्चनपुर, १९ जेठ । नेपालमा मताधिकारको प्रयोग, लोकतान्त्रिक सहभागिता तथा विदेशमा रहेका नेपाली नागरिकको मतदान गर्न पाउने अधिकारको विषयमा केन्द्रित नयाँ बहस सुरु भएको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा मंगलबार सोही विषय केन्द्रित वृहत् युवा अन्तरक्रिया कार्यक्रम गरिएको छ । इन्टरनेशनल आइडियाको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको कार्यक्रममा दोधाराचाँदनीका ४० जना भन्दा बढी युवाहरू, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै लोकतन्त्रको सुदृढीकरणका लागि नागरिक सहभागिता अपरिहार्य रहेको बताए । उनले मताधिकार नागरिकको आधारभूत राजनीतिक अधिकार भएकाले यसको प्रभावकारी प्रयोगले मात्र लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन सकिने उल्लेख गरे । "नेपालबाट लाखौँ नागरिक रोजगारी, अध्ययन र विभिन्न कारणले विदेशमा छन् । उनीहरू देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका छन् । तर उनीहरूको राजनीतिक सहभागिताको विषय अहिले नयाँ बहसकै विषय बनेको छ । यही विषयमा युवाहरूको धारणा संकलन गरी नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो," उनले भने ।
दोधाराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले निर्वाचन मतदानमा सीमित विषय नभई नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कृतिसँग जोडिएको विषय भएको उल्लेख गरे ।
कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका कञ्चनपुर जिल्ला संयोजक हरिश्चन्द्र बागले "दोधाराचाँदनीको वस्तुस्थिति र निर्वाचनमा सहभागिता" विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले दोधाराचाँदनी नगरपालिकाको ऐतिहासिक, सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाबारे जानकारी गराउँदै निर्वाचनमा मतदाताको सहभागिता, मतदानको प्रवृत्ति तथा युवाहरूको भूमिकाका विषयमा तथ्याङ्कसहित प्रस्तुति दिएका थिए । उनले पछिल्ला स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनहरूमा देखिएको मतदाता सहभागिता, युवा मतदाताको आकर्षण तथा निर्वाचनप्रतिको जनचासोका पक्षहरू प्रस्तुत गरेका थिए । साथै सीमावर्ती नगरका रूपमा रहेको दोधाराचाँदनीको विशिष्ट सामाजिक संरचना तथा वैदेशिक रोजगारीको प्रभावले निर्वाचनमा पारेको असरबारे पनि चर्चा गरेका थिए ।
त्यसपछि प्राध्यापक चिरञ्जीवी खनालले नेपालमा मताधिकार, लोकतन्त्रको विकासक्रम, निर्वाचन प्रणाली तथा नागरिक सहभागिताको महत्वबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । उनले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ताको प्रयोग निर्वाचनमार्फत हुने भएकाले प्रत्येक नागरिकको मतको मूल्य समान रहेको बताए । उनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने विषयमा विश्वका विभिन्न देशका अभ्यासहरू प्रस्तुत गर्दै नेपालले पनि समयानुकूल कानुनी र प्राविधिक व्यवस्था विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सहभागी युवाहरूलाई चार समूहमा विभाजन गरी विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सम्बन्धी विषयमा सामूहिक छलफल गराइएको थियो ।
समूहगत छलफलमा सहभागीहरूले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्न दिनुपर्ने वा नपर्ने, मतदानको व्यवस्था कसरी गर्ने, त्यसबाट उत्पन्न हुने अवसर र चुनौतीहरू तथा आवश्यक कानुनी व्यवस्थाका विषयमा गहन छलफल गरेका थिए ।
अधिकांश समूहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्ने निष्कर्ष प्रस्तुत गरेका थिए । उनीहरूले विदेशमा रहेका नेपालीहरूले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको, उनीहरू पनि नेपालको नागरिक भएकाले राजनीतिक अधिकारबाट वञ्चित गर्न नहुने तथा लोकतान्त्रिक सहभागिता सुनिश्चित गर्न मताधिकार प्रदान गर्नुपर्ने धारणा राखेका थिए । कतिपय सहभागीहरूले भने मतदानको व्यवस्था गर्दा मतदाताको पहिचान, मतदानको विश्वसनीयता, दोहोरो मतदानको जोखिम तथा प्राविधिक व्यवस्थापनका चुनौतीहरूलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका थिए ।
छलफलका क्रममा विदेशस्थित नेपाली नियोगमार्फत मतदान, विद्युतीय मतदान प्रणाली, हुलाकमार्फत मतदान तथा पूर्वदर्ता प्रणालीजस्ता विकल्पहरूबारे सुझाव प्रस्तुत गरिएको थियो । युवाहरूले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार उपलब्ध गराउँदा लोकतान्त्रिक सहभागिता विस्तार हुने, राज्यप्रतिको अपनत्व बढ्ने तथा नीतिगत बहसमा प्रवासी नेपालीहरूको आवाज समावेश हुने अवसर सिर्जना हुने धारणा व्यक्त गरेका थिए । साथै पर्याप्त तयारीबिना यस्तो व्यवस्था लागू गरिए निर्वाचन व्यवस्थापनमा जटिलता आउन सक्ने चेतावनी पनि दिएका थिए । कानुनी व्यवस्थाको सन्दर्भमा संविधान, निर्वाचनसम्बन्धी कानुन तथा मतदाता नामावली व्यवस्थापन प्रणालीमा आवश्यक संशोधन गरी स्पष्ट कानुनी आधार तयार गर्नुपर्ने सहभागीहरूको धारणा थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले लोकतन्त्रलाई बलियो बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले स्थानीय सरकार नागरिकका आवाज सुन्न र लोकतान्त्रिक अभ्यासलाई प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरे । "देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूको पनि देशप्रति गहिरो सम्बन्ध छ । उनीहरूको राजनीतिक सहभागिताको विषयमा गम्भीर बहस हुनु सकारात्मक पक्ष हो," उनले भने ।
त्यसैगरी सूचनाको हकका लागि राष्ट्रिय महासंघका सहजकर्ता किरण पौडेलले लोकतन्त्र, नागरिक सहभागिता र विदेशमा रहेका नेपाली नागरिकको मताधिकार जस्ता समसामयिक विषयमा केन्द्रित उक्त कार्यक्रमले युवाहरूलाई आफ्नो धारणा खुला रूपमा राख्ने अवसर प्रदान गरेको उनलेे बताएका छन् । मतदान अधिकार संवैधानिक अधिकार मात्र नभई लोकतन्त्रको आधार स्तम्भ भएको बताए । उनले सक्षम नेतृत्व चयन, उत्तरदायी शासन व्यवस्था र नागरिक अधिकारको संरक्षणका लागि निर्वाचनमा सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमको समापन गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बाग्चन्दले अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई सम्बन्धित निकायसम्म पुर्याइने बताए । उनले युवाहरूले प्रस्तुत गरेका धारणा र सुझावहरूले भविष्यमा निर्वाचन प्रणाली तथा मताधिकार सम्बन्धी नीतिगत बहसलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा उठेका सुझावहरूले भविष्यमा नेपालको निर्वाचन प्रणालीलाई थप समावेशी र सहभागितामूलक बनाउने बहसलाई नयाँ आयाम दिएको निष्कर्ष निकालिएको थियो ।