हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ जेठ । “प्रलोभनमा नपर्नू” भन्ने स्पष्ट र कडा सन्देशसहित शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरले कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा मानव बेचबिखन, लागु औषध दुर्व्यसन, लैङ्गिक हिंसा तथा बाल विवाह न्यूनीकरण सम्बन्धी सशक्त जनचेतनामूलक अभियान सञ्चालन गरेको छ । शान्ति पुनर्स्थापना गृहले लालझाडी गाउँपालिका वडा नं. ६ चानदेवस्थित रामेश्वर माध्यमिक विद्यालय र वडा नं. २ मा रहेको भानु माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको हो । स्थानीय तह र सम्बन्धित विद्यालयसँगको समन्वयमा सम्पन्न कार्यक्रममा जोखिमपूर्ण सामाजिक विकृतिविरुद्ध विद्यार्थी केन्द्रित चेतना फैलाइएको हो ।

कार्यक्रममा शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जीत सिंहले पछिल्लो समय मानव बेचबिखनका स्वरूप गाउँ स्तरसम्म विस्तार भएको उल्लेख गर्दै “आकर्षक रोजगारी, अध्ययन, विवाह वा राम्रो जीवनस्तर” को नाममा आउने कुनै पनि प्रलोभनलाई गम्भीर रूपमा नलिन विद्यार्थीलाई चेतावनी दिनुभयो । उहाँले सचेत नभए किशोर किशोरीहरू सजिलै जोखिममा पर्ने अवस्था रहेको भन्दै सतर्कता नै पहिलो सुरक्षा कवच भएको बताउनुभयो ।

शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरकी प्रमुख मनीषा न्यौपाने, सम्पर्क कार्यालय बेलडाँडीकी परामर्शदाता जमुना सिंह र सम्पर्क कार्यालय बेलौरीकी परामर्शदाता नितू विष्टले मानव बेचबिखनका नयाँ नयाँ स्वरूप, जोखिमका क्षेत्र तथा सुरक्षित रहने उपायबारे विस्तृत जानकारी दिनुभयो । उहाँहरूले विशेषगरी सामाजिक सञ्जाल, रोजगारी र वैदेशिक अध्ययनका नाममा हुने ठगी र प्रलोभनप्रति सजग रहन विद्यार्थीलाई कडा आग्रह गर्नुभयो । कार्यक्रममा लैङ्गिक हिंसा, बाल विवाह र लागु औषध दुर्व्यसनका गम्भीर असर तथा कानुनी दण्ड सजायबारे पनि प्रशिक्षण दिइएको थियो । विद्यार्थीहरूलाई शङ्कास्पद गतिविधि देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन प्रोत्साहित गरिएको थियो ।

भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले विद्यालय स्तरमा यस्ता कार्यक्रम नियमित हुनुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीलाई जीवन उपयोगी व्यवहारिक ज्ञान प्रदान गर्न यस्ता अभियान प्रभावकारी हुने धारणा राख्नुभयो ।
-1780702854.jpg)
लालझाडी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष हर्क नारायण जोशीले मानव बेचबिखन, लागु औषध दुर्व्यसन, बाल विवाह र लैङ्गिक हिंसाजस्ता सामाजिक विकृतिले समाजलाई गम्भीर असर पारिरहेको बताउनुभयो । उहाँले यस्ता जोखिमबाट बालबालिका तथा किशोर किशोरीलाई जोगाउन विद्यालय स्तरमै सचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्दै समुदाय, विद्यालय र अभिभावकबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

लालझाडी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष आशाराम रानाले पछिल्लो समय विभिन्न प्रलोभन र गलत सङ्गतका कारण किशोर किशोरीहरू जोखिममा पर्ने अवस्था बढ्दै गएको बताउनुभयो । उहाँले सचेतना नै अपराध र सामाजिक विकृतिविरुद्धको सबैभन्दा प्रभावकारी हतियार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई सही निर्णय लिन र जोखिमबाट बच्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीका प्रतिनिधिले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन सम्पर्क र विभिन्न प्रलोभनका माध्यमबाट किशोर किशोरीहरू जोखिममा पर्ने घटना बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले अपरिचित व्यक्तिको प्रभावमा नपर्न, कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी गराउन तथा कानुन विपरीत गतिविधिबाट टाढा रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

सहभागी अन्य वक्ताहरूले विद्यालय तहबाटै चेतना नफैलाइए समाजमा अपराधका घटना नियन्त्रण गर्न कठिन हुने भन्दै घर, विद्यालय र समुदायबीच समन्वय अनिवार्य रहेकोमा जोड दिनु भएको छ । उहाँहरूले स्थानीय तहले बालबालिका तथा किशोर किशोरीको संरक्षण, शिक्षा र सुरक्षित भविष्यका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । स्थानीय तह, विद्यालय, प्रहरी तथा सरोकारवाला निकायहरूको सहकार्यमा यस्ता अभियानलाई अझ व्यापक बनाउनुपर्ने सहभागीहरूको धारणा छ । कार्यक्रमले विद्यार्थीमा आत्मरक्षा, कानुनी चेतना र सामाजिक जिम्मेवारीबोधलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
