अम्बादत्त जाेशी, कञ्चनपुर, २३ जेठ । कञ्चनपुरकाे महेन्द्रनगरमा जिल्ला स्तरीय बालसञ्जालका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने क्षमता विकास तालिम सुरु भएको छ । सामुदायिक विकास केन्द्र (सीडीसी) को आयोजना तथा Save the Children को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न स्थानीय तहका बालसञ्जाल पदाधिकारीहरूको सहभागिता रहेको छ ।

“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित सञ्चालन गरिएको तालिमको पहिलो दिन बालअधिकार, बाल सहभागिता, नेतृत्व विकास, बालसञ्जालको भूमिका तथा प्रभावकारी सञ्चारसम्बन्धी विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।
-1780768885.jpeg)
प्रदेश स्तरीय बाल सञ्जाल सदस्य अशोक धामीले जिल्लाभित्रका बालबालिकालाई सक्रिय बनाउँदै उनीहरूले आफ्ना आवाज र सरोकारका विषयहरू प्रभावकारी रूपमा उठाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । “जिल्लाका प्रत्येक बालबालिकाले आफ्ना कुरा निर्धक्क रूपमा राख्न सक्ने वातावरण निर्माण गर्न आवश्यक छ । हामी जिल्लालाई नै बालमैत्री बनाउने प्रयासमा छौं,” उनले भने, “जिल्लाभरि बालबालिकासँग सम्बन्धित जुनसुकै समस्या देखिए पनि तिनलाई प्राथमिकतामा राखेर काम अघि बढाउने र कुनै पनि बालबालिकाले समस्या भोग्न नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।”
-1780768884.jpeg)
आयोजकका अनुसार तालिमले बालसञ्जालका पदाधिकारीहरूको नेतृत्व क्षमता विकास गर्दै बालअधिकार संरक्षण तथा प्रवर्द्धनमा उनीहरूको भूमिका थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई बालअधिकार, नेतृत्व, वकालत, सञ्चार सीप तथा सञ्जाल परिचालनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।
-1780768883.jpeg)