हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ जेठ । "शिक्षामा सबैको पहुँच, गरिबी शिक्षा प्राप्तिको बाधा नबनोस्" भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको ‘सानो प्रयास’ अभियान मार्फत कञ्चनपुरको बेलौरी क्षेत्रका चार सामुदायिक विद्यालयका २५ जना आर्थिक रूपमा विपन्न विद्यार्थीलाई रु. १ लाख २३ हजार ७९० बराबरको शैक्षिक सहयोग प्रदान गरिएको छ ।
अभियानका सहजकर्ता किशोर शाहीका अनुसार आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका विद्यार्थीहरूको शैक्षिक यात्रालाई निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । समुदायका विभिन्न सहयोगी मनहरूको साथ, विश्वास र सहकार्यका कारण अभियानले यो कार्य गर्न सफल भएको उहाँको भनाइ छ ।

अभियानअन्तर्गत श्री दुर्गा आधारभूत विद्यालय, बेलौरी १ मटैया का ११ जना विद्यार्थीलाई रु. ५० हजार ७९०, श्री बी.पी. स्मृति आधारभूत विद्यालय, बेलौरी २ चारघरुवा का ४ जना विद्यार्थीलाई रु. २२ हजार, श्री सरस्वती माध्यमिक विद्यालय, बेलौरी ३ बुटाबारी का ३ जना विद्यार्थीलाई रु. १५ हजार तथा श्री लक्ष्मी माध्यमिक विद्यालय, बेलौरी २ गोकुलपुर का ६ जना विद्यार्थीलाई रु. २८ हजार बराबरको शैक्षिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराइएको छ । यसका साथै मनीषा कुमाललाई विशेष शैक्षिक सहयोगस्वरूप रु. ८ हजार प्रदान गरिएको अभियानले जनाएको छ ।
सहजकर्ता शाहीले सानो सहयोगले पनि बालबालिकाको भविष्य निर्माणमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्दै शिक्षा प्राप्त गर्ने अधिकारबाट कुनै पनि बालबालिका वञ्चित हुन नहुने बताउनु भयो । "आजका कोपिला भोलिका भविष्य हुन् । आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ रोकिनु हुँदैन भन्ने सोचका साथ अभियान सञ्चालन गरेका हौँ," उहाँले भन्नुभयो ।

अभियानमा गोपाल भट्ट, विश्वेश्वर (बी.पी.) जैशी, जितेन्द्र शाही, राजेश शाही, हरिश शाही, राजेश (आर.जे.) पन्त, काशीराम जैशी, नितेश जंग शाही, माधव शाही, भरत चन्द, धनबहादुर शाही, कवीन्द्र अवस्थी, हरिश शाही (मास्टर), कुन्दन शाही, राजु भट्ट, रोशन धामी, विक्की शाही, राजेन्द्र भट्ट (फटिया), युवक बोहोरा, रचना शाही, रक्षा शाही, चित्र शाह तथा किशोर शाहीसहित २३ जना सहयोगी व्यक्तिहरूको योगदान रहेको छ ।
अभियान पक्षका अनुसार यो पहल केवल शैक्षिक सामग्री वितरणमा सीमित नभई समाजमा सहयोग, सद्भाव, मानवीयता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अभियानका रूपमा स्थापित हुँदै गएको छ । अभियान सफल बनाउन सहयोग पुर्याउने विद्यालय परिवार, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्ष अझ बढी विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य राखिएको सहजकर्ता शाहीले जानकारी दिनुभयो ।

"शिक्षामा सानो सहयोग, जीवनमा ठूलो परिवर्तन" तथा "हाम्रो सानो प्रयास, कसैको उज्ज्वल भविष्य" भन्ने नारासहित सञ्चालन गरिएको अभियानले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने बालबालिकाको भविष्य उज्यालो बनाउन सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको अभिभावकहरूको भनाइ छ ।