हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ असार । कञ्चनपुरको बेलौरीमा रहेको उग्रतारा बाल विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय चेतनायुक्त सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यसहित सुरु गरिएको उक्त तालिममा विद्यालयका १५ जना छात्र र १५ जना छात्रा गरी ३० जना विद्यार्थी सहभागी भएका छन् ।
कार्यक्रमको उद्घाटन श्री बराहदल गुल्म भगतपुर ब्यारेकका सेनानी अशोक शाहीले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सेनानी शाहीले नेपाली सेनाले वि.सं. २०२२ सालदेखि राष्ट्रिय सेवा दल (एनसीसी) कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार यो कार्यक्रमको मूल उद्देश्य अनुशासित, बफादार, देशभक्त, आत्मविश्वासी तथा नेतृत्व क्षमतायुक्त नागरिक तयार गर्नु रहेको छ ।
सेनानी शाहीले तालिमका क्रममा विद्यार्थीहरूलाई व्यावहारिक र जीवन उपयोगी सीपहरू प्रदान गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एनसीसी तालिम शारीरिक अभ्यासमा मात्रै सीमित हुँदैन, यसले विद्यार्थीलाई नेतृत्व, अनुशासन र राष्ट्रिय जिम्मेवारीबोधतर्फ पनि अग्रसर गराउँछ ।” उहाँका अनुसार तालिममा शारीरिक व्यायाम, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पिटी, म्याप रिडिङ लगायतका गतिविधिहरू समावेश गरिनेछ ।
तालिमको अवधि १०० दिन रहने छ । जसअन्तर्गत ७९ दिन विद्यालयमै र बाँकी २१ दिन बाँकेको कोहलपुरमा विशेष प्रशिक्षण सञ्चालन गरिने बताइएको छ । नेपाली सेनाले एनसीसीलाई जुनियर र सिनियर गरी दुई तहमा सञ्चालन गर्दै आएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई जुनियर डिभिजन र कक्षा ११ तथा १२ का विद्यार्थीहरूलाई सिनियर डिभिजन अन्तर्गत प्रशिक्षण दिइन्छ । सिनियर डिभिजनमा विद्यार्थीहरूलाई हतियार सञ्चालनसम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरिने व्यवस्था रहेको जनाइएको छ ।

यस वर्ष कञ्चनपुर जिल्लाका पाँच वटा विद्यालयमा एनसीसी कार्यक्रम सञ्चालन भइरहेको छ । तीमध्ये बेलौरीको उग्रतारा बाल विद्यालय, लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालय, पुनर्वास नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय तथा भीमदत्त नगरपालिकाका लिटिल स्टार पब्लिक माध्यमिक विद्यालय र सनराइज पब्लिक सेकेन्डरी स्कुल रहेका छन् । यी सबै विद्यालयमा जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको बताइएको छ ।
उद्घाटन समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले एनसीसी तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो तालिमले विद्यार्थीको अनुशासन, आचरण, बानी–व्यवहार र नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याउने हामीले अपेक्षा गरेका छौँ ।” कार्यक्रमका सभापति समेत रहनुभएका प्रिन्सिपल बिष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यस्तै श्री बराहदल गुल्मका सेनानी अशोक शाही विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
उक्त अवसरमा बोल्दै नगर उपप्रमुख जोगराम चौधरीले एनसीसी जस्ता कार्यक्रमले युवापुस्तामा अनुशासन र राष्ट्रिय एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमलाई स्थानीय तहले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका शिक्षा शाखाका अधिकृत अमित प्रसाद भट्टले एनसीसी तालिमलाई विद्यालयस्तरको अत्यन्त उपयोगी कार्यक्रमका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार यस्ता प्रशिक्षणले विद्यार्थीहरूलाई पढाइसँगै व्यवहारिक जीवनका लागि आवश्यक सीप प्रदान गर्दछ ।
त्यस्तै लागुऔषध विरुद्धका अभियन्ता मदन चन्दले युवाहरूलाई गलत बाटोतर्फ जानबाट रोक्न एनसीसी जस्ता अनुशासनमूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “युवालाई अनुशासन, खेलकुद र नेतृत्वतर्फ आकर्षित गर्न सके लागुऔषधको जोखिम स्वतः घट्छ ।” राष्ट्रिय सेवा दलले देशभरका विद्यालयमा एनसीसी कार्यक्रममार्फत युवाहरूमा अनुशासन, इमानदारिता, बफादारिता, राष्ट्रिय एकता र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यसहित नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।