हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असार । लगातार दुई दिनदेखि परेको वर्षाले कञ्चनपुरका विभिन्न बस्ती डुबानमा पर्न थालेका छन् । जिल्लाका होचा भूभाग र नदी तथा खोलानालानजिकका क्षेत्र बढी जोखिममा परेका छन् ।
दोधाराचाँदनीमा जगबुडा नदीको जलस्तर बढेसँगै नदीको पानी बस्तीमा पस्न थालेको छ । तटीय क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
त्यस्तै कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, पुनर्वास र बेलौरीका केही बस्ती पनि डुबानको चपेटामा परेका छन् । नजिकका खोलानालाबाट आएको पानी र वर्षाको पानीको उचित निकास हुन नसक्दा बस्तीमा पानी जम्न थालेको हो ।
लगातारको वर्षापछि चुरे हुँदै कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, लालझाडी, बेलौरी र पुनर्वास क्षेत्र भएर बग्ने दोदा नदी उर्लिन थालेको छ । नदी आसपासका बस्तीमा त्रास बढ्दो छ । कतै कटान, कतै डुबानको जोखिम छ । तटीय क्षेत्रका बासिन्दाहरू रातभर जाग्राम बस्न बाध्य छन् ।
दुई दिनको वर्षाले नै कञ्चनपुरको लालझाडी गाउँपालिका-३ मा बाढीले वितण्डा मच्चाएको छ । घरभित्र पानी पसेको छ, बस्ती डुबानमा परेको छ र स्थानीयको जनजीवन कष्टकर बनेको छ । कतै सडक अवरुद्ध, कतै खेतीपातीमा क्षति, अनि कतै सुरक्षित स्थानको खोजी… वर्षासँगै सुदूरपश्चिममा विपद्को जोखिम झन् बढ्दै गएको देखिन्छ ।
अहिले अवस्था सामान्य देखिए पनि वर्षा निरन्तर भइरहे नदी तथा खोलानालामा पानीको बहाव थप बढ्न सक्ने देखिएको छ । वर्षा नरोकिए तटीय तथा होचा भूभागमा बाढी र डुबानको जोखिम अझ बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।