हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ असार । कञ्चनपुरको लालझाडी गाउँपालिकामा युवावर्गलाई लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेत बनाउन वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ । "लागूपदार्थ दुर्व्यसन रोकथाममा युवाको भूमिका" विषयमा आयोजित प्रतियोगितामा रामेश्वर माध्यमिक विद्यालयकी छात्रा प्रतिज्ञा भण्डारी प्रथम भएकी छन् । लालझाडी गाउँपालिका-२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सम्पन्न प्रतियोगिताको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरले गरेको थियो भने कार्यक्रम लालझाडी गाउँपालिकाको सहकार्यमा भएको हो ।


प्रतियोगितामा प्रथम भएकी प्रतिज्ञा भण्डारीले नगद ५ हजार रुपैयाँर प्रमाणपत्र प्राप्त गरिन् । बैजनाथ माध्यमिक विद्यालयकी छात्रा रेखा भारती द्वितीय हुँदै नगद ३ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरिन् । त्यसैगरी शारदा राष्ट्रिय माध्यमिक विद्यालयका छात्र रमित दाहाल तृतीय भई नगद २ हजार रुपैयाँसहित प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा सहभागी सबै विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले लागूपदार्थ दुर्व्यसन समाजका लागि गम्भीर सामाजिक चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै यसको रोकथाममा युवाहरू नै सबैभन्दा प्रभावकारी अभियानकर्ता बन्न सक्ने बताउनुभयो । यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकास हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि तथा गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूलाई दुर्व्यसनबाट जोगाउन परिवार, विद्यालय, स्थानीय तह र समुदाय सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो । विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्न सके अनुशासित, जिम्मेवार र स्वस्थ नागरिक निर्माणमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले लागूपदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताउनुभयो । उहाँले स्थानीय सरकार, विद्यालय, अभिभावक र युवावर्गबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीलाई दुर्व्यसनबाट टाढा रही समाजमा सचेतना फैलाउन आग्रह गर्नुभयो ।

भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले विद्यालय शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित हुन नहुने बताउँदै विद्यार्थीलाई सामाजिक उत्तरदायित्व, नैतिक शिक्षा र जीवनोपयोगी सीपसँग जोड्नुपर्ने धारणा राख्नुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा आत्म अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने भएकाले आगामी दिनमा पनि विद्यालयले यस्ता अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कार्यक्रमको समापन गर्दै सभापति तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोजराज भट्टले लागूपदार्थ दुर्व्यसन नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय तह र समुदायको साझा अभियान हुनुपर्ने बताउनुभयो । युवालाई दुर्व्यसनबाट जोगाउन यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा लालझाडी गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष आशाराम राना, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका सचिव भुवन कुँवर केसी, भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश राना, इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख कमलप्रसाद चौधरी, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतियोगितामा लालझाडी गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विमल खडायतले गर्नुभएको थियो ।