गणेश जोशी, कञ्चनपुर, २६ असार । कञ्चनपुरको वेदकोटस्थित घटाल बहुमुखी क्याम्पसले नवनिर्मित शैक्षिक भवन उद्घाटनसँगै आफूलाई प्रविधिमैत्री र डिजिटल शिक्षाको नमुना क्याम्पसका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ । क्याम्पसले त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीए कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढाएको तथा आगामी शैक्षिक सत्रदेखि सामादैजी र सुडा दुवै केन्द्रबाट नियमित पठनपाठन सञ्चालन गर्ने जनाएको छ ।
शुक्रबार आयोजित भवन उद्घाटन तथा सम्मान कार्यक्रममा क्याम्पस प्रमुखले औपचारिक शिक्षासँगै कम्प्युटर, डिजिटल सीप, एप्लिकेसन तथा वेबसाइट विकासलगायतका व्यावसायिक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई प्रतिस्पर्धी जनशक्ति बनाइने योजना रहेको जानकारी दिनुभयो । क्याम्पसको समग्र विकासका लागि आगामी १० वर्षसम्म हरेक दिन कम्तीमा १२ घण्टा समय समर्पित गरेर काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराको सभापतित्व तथा वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष हरि बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । बीबीएस तृतीय वर्षकी छात्रा पूजा साउदले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका उदयदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र के.सी., घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रणबहादुर दौल्याल तथा बालजागृति विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दलाई सम्मान गरिएको थियो । क्याम्पसले विशिष्ट अतिथि हरि बोहरा तथा प्रमुख अतिथि एवं नगरप्रमुख भोजराज बोहरालाई अभिनन्दनसमेत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ माध्यमिक विद्यालय, जडेपानीका प्रधानाध्यापकले वेदकोट नगरपालिकालाई उच्च शिक्षाको केन्द्र (हायर एजुकेसन हब) का रूपमा विकास गर्न स्थानीय सरकार, शैक्षिक संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । बालजागृति विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले निजी विद्यालयमा आबद्ध भए पनि सामुदायिक विद्यालय तथा क्याम्पसहरूको विकासका लागि आवश्यक पर्ने सहयोग गर्न आफू सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि हरि बोहराले क्याम्पसको शैक्षिक, भौतिक तथा संस्थागत विकासका लागि आवश्यक पर्ने हरेक सहयोगमा निरन्तर साथ रहने बताउनुभयो । प्रमुख अतिथि तथा नगरप्रमुख भोजराज बोहराले छोटो समयमै घटाल बहुमुखी क्याम्पसले हासिल गरेको प्रगतिलाई सकारात्मक उदाहरणका रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने विश्वास दिलाउनुभयो ।
समापन मन्तव्यमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायण बोहराले घटाल बहुमुखी क्याम्पसलाई कञ्चनपुरकै उत्कृष्ट सामुदायिक उच्च शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ सबै पक्षको साझा प्रयास र सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।