हरिश्चन्द्र बाग, कञ्चनपुर, २९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहरघाटस्थित महाकाली नदीको पूर्वी क्षेत्रमा आइतबार बिहानदेखि देखिएका तीन वटा जंगली हात्ती राति अबेरसम्म पनि नदीमै बसेपछि आसपासका बस्तीमा त्रास फैलिएको छ । यद्यपि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले हात्तीहरू नदीमा फसेका नभई अनुकूल वातावरण पाएर त्यहीँ रमाइरहेको जनाएको छ ।

महाकाली नदीमाथि नवनिर्मित चार लेनको पक्की पुल नजिक नदीभित्र बनेको पोखरी क्षेत्रमा आइतबार बिहान समूहमा चर्दै गरेका तीन वटा हात्ती देखेपछि निकुञ्ज प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षा निकायको टोली परिचालन गरिएको थियो । दिनभर ड्रोन उडाउने, पटाका पड्काउनेलगायत विभिन्न उपाय अपनाएर हात्तीलाई निकुञ्जतर्फ फर्काउने प्रयास गरिए पनि सफलता मिलेन ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार हात्तीहरू कुनै जोखिममा परेका वा फसेका होइनन् । नदीको पोखरी क्षेत्रमा चिसो पानी, पर्याप्त घाँस र शान्त वातावरण भएकाले उनीहरू त्यहीँ बसेका हुन् । "दिनभर पुल र पहुँच मार्गमा मानिसहरूको अत्यधिक भीड भयो । त्यसैले हात्ती बाहिर निस्कन चाहेनन्," उनले भने, "राति वातावरण शान्त भएपछि उनीहरूको गतिविधि हेरेर आवश्यक निर्णय लिन्छौँ ।"

निकुञ्ज प्रशासनका अनुसार हात्तीलाई बल प्रयोग गरेर निकाल्नेभन्दा मानव र वन्यजन्तु दुवैको सुरक्षा हुने गरी स्वाभाविक रूपमा निकुञ्जतर्फ फर्काउने रणनीति अपनाइएको छ । हात्ती नदीबाट बाहिर निस्किएमा उनीहरूलाई सुरक्षित रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र लैजाने योजना छ ।

मध्यरातिसम्म पनि हात्ती महाकाली नदीकै पोखरी क्षेत्रमा रहेकाले हरिहरघाट र आसपासका बस्तीमा उच्च सतर्कता अपनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय युवाहरूको संयुक्त टोली रातभर गस्तीमा खटिएको छ ।

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले हात्ती मानवबस्तीमा प्रवेश गर्न नदिन सुरक्षा निकायसँग समन्वय गरेर निरन्तर निगरानी भइरहेको बताए । "रातिको समयमा सबैभन्दा ठूलो चुनौती हात्ती बस्तीतिर नजाओस् भन्ने हो । त्यसका लागि सुरक्षा टोली चौबीसै घण्टा गस्तीमै छ," उनले भने ।

निकुञ्ज प्रशासनले महाकाली नदी किनार र हरिहरघाट क्षेत्रमा अनावश्यक भीड नगर्न, हात्ती हेर्न भन्दै नदीतर्फ नजान तथा रातिको समयमा विशेष सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । निकुञ्जका प्राविधिकका अनुसार ती हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट महाकाली नदी किनार हुँदै उक्त क्षेत्रमा आइपुगेका हुन् ।

वन्यजन्तु विज्ञहरूका अनुसार जंगली हात्तीले गर्मीयाममा चिसो पानी र पर्याप्त घाँस भएको स्थान रोजेर लामो समयसम्म विश्राम गर्ने व्यवहार सामान्य मानिन्छ । तर त्यस्ता स्थान मानवबस्ती नजिक पर्दा स्थानीयको सुरक्षा चुनौतीपूर्ण बन्ने भएकाले निरन्तर निगरानी र संयम आवश्यक हुने उनीहरूको भनाइ छ ।
