कञ्चनपुर, १३ भदौ । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ जिल्लाका विभिन्न सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी तथा श्रमिकहरू र भ्रमण तथा अन्य काम विशेषले बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका व्यक्तिहरूको सम्पर्क अवस्थाबारे विवरण संकलन गर्ने क्रम जारी छ ।
शनिबार दिउँसोसम्म १७७ जना सम्पर्कविहीन भएको भन्दै नाम टिपोट गरिएकामा ३४ जनासँग विभिन्न माध्यमबाट सम्पर्क भएको जानकारी प्राप्त भएको छ । शनिबार दिउँसोसम्मको विवरण अनुसार अझै १४३ जना सम्पर्कविहीन रहेको विवरण प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रमा प्राप्त भएको छ ।
सम्पर्कविहीन हुनेमा १४ जना महिला र १२९ जना पुरुष छन् । जिल्लागत रूपमा कैलालीका ६३, कञ्चनपुरका ३१, डडेल्धुराका १७, बाजुराका १४, बैतडीका आठ, दार्चुलाका तीन, डोटीका तीन, बझाङका दुई र अछामका दुई जना छन् ।
विभिन्न माध्यमबाट सम्पर्क भएका ३४ जनामध्ये दुई जना महिला र ३२ जना पुरुष छन् । सम्पर्कमा आएकामध्ये कैलालीका १९ जना पुरुष, कञ्चनपुरका एक महिला र आठ पुरुष गरी नौ जना तथा डडेल्धुराका एक महिला र पाँच पुरुष गरी छ जना छन् ।
बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका व्यक्तिहरूको विवरण सम्बन्धित जिल्ला र स्थानीय तहबाट संकलन गरी केन्द्रमा पठाउने गरिएको छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमार्फत नाम तथा विवरण टिपोट गरी केन्द्रमा पठाइने गरेको जनाइएको छ ।
बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुनुका साथै कतिपय स्थानमा मोबाइल नेटवर्कसमेत प्रभावित भएकाले सम्पर्क स्थापित हुन नसकेको हुनसक्ने केन्द्रले जनाएको छ । सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गरी जानकारी संकलन, सम्पर्क स्थापित गर्ने तथा खोजी र उद्धारसम्बन्धी काम भइरहेको बताइएको छ । केन्द्रमा विवरण आउने क्रम जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ ।
