कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरमा लागु औषध तथा दुर्व्यसनी रोकथाममा जोड दिँदै हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । ‘लागु औषध ओसारपसार तथा दुर्व्यसनी निर्मुलीकरण गरौँ, हरेक भान्सा घरलाई औषधालयमा परिणत गरौँ’ भन्ने मूल नाराका साथ बेलौरी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयको प्रायोजन तथा सिद्धेश्वर जय पृथ्वी क्लब शिवनगरको आयोजनामा शनिबार हाफ म्याराथन प्रतियोगिता गरिएको हो । हाफ म्याराथन प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न सङ्घसंस्थाबाट करिब २ सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सिद्धेश्वर शिव मन्दिर शिवनगरबाट हाफ म्याराथन सुरु भई वडा नम्बर १० परिक्रमा गरी मन्दिरमै (करिब १२ किलोमिटर) दौड भएको थियो । प्रतियोगितामा सहभागीहरूले ‘से नो टु ड्रग्स’ र ‘लागु औषध ओसारपसार तथा दुर्व्यसनी निर्मुलीकरण गरौँ, हरेक भान्सा घरलाई औषधालयमा परिणत गरौँ’ उल्लेखित पोस्टर लगाएर दौड गरेको क्लबका अध्यक्ष पदम शाहले बताउनु भयो । लागू औषध सेवन गर्नु हुँदैन, यसले शारीरिक, आर्थिक र सामाजिक लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पार्छ भन्ने सन्देश दिन जनचेतना प्रवाह गर्न खोजेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “अहिले बेलौरीको खुल्ला सीमाबाट दैनिक जसो लागू औषध सम्बन्धी घटना बढ्दै गएको पाइन्छ, यसलाई न्यूनीकरण गर्न सरोकारवाला निकायले ध्यान दिनु पर्ने जरुरी छ ।”

धूम्रपान विरोधी अभियन्ता तथा हेल्प नेपालका अध्यक्ष मदन चन्द, हेल्प नेपाल कञ्चनपुरका सल्लाहकार प्रेम ठगुन्ना, बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हरिलाल चौधरी लगायतको विशेष आतिथ्यतामा हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको क्लबले जनाएको छ । उक्त प्रतियोगितामा करिब १२ किलोमिटरको दुरी पुरुष तर्फ बेलडाँडीका केशव धामीले ३७ मिनेटमा पूरा गरी प्रथम र ३९ मिनेटमा पूरा गरी शिवनगरका हिमाल सिंह द्वितीय हुनु भएको छ । त्यस्तै महिला तर्फ ५७ मिनेटमा दुरी पार गरी भुडाकी करुणा चौधरी प्रथम र १ घण्टा ३ मिनेटमा दुरी पार गरी बेलडाँडीकी सुशीला चौधरी द्वितीय हुनु भएको आयोजकले जनाएको छ । हाफ म्याराथनमा प्रथम हुने पुरुष र महिलालाई नगद रु. ५ हजार ५ सय र द्वितीय हुने पुरुष र महिलालाई नगद रु. ३ हजार ३ सय सहित प्रमाणपत्र यही फागुन १६ हुने शिवनगर सांस्कृतिक महोत्सवमा वितरण गरिने जनाइएको छ ।