कञ्चनपुर, ०२ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद हुँदै गर्दा घटनास्थलमा कर्तव्य पालना गर्दा दुई जना पत्रकारमाथि प्रहरीले दमन गरेको छ । मंगलबार साँझ प्रहरीले समान जाँच गर्दा दुवै पक्षबिच विवाद भएको थियो । भारतीय सीमावर्ती शहर वनबासाबाट दुई पाङ्ग्रे साधनमा मालसामान क्यारिङ्ग गरी जीविकोपार्जन गर्दै आएका क्यारिङ्गकर्ताहरूले सुकासालस्थित प्रहरी बिटमा समेत तोडफोड गरेका थिए ।
प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिएको उनीहरूको आरोप छ । झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न केहीलाई त प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । सोही घटनाको स्थलगत रिपोर्टिङ गरिरहनु भएका पत्रकारद्वय राजेन्द्र नाथ र ऐश्वर्या कुँवरमाथि प्रहरीले दमन गरेको हो । पत्रकार नाथलाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा पुर्याउँदा प्रहरी नायव उपरीक्षकको निर्देशनमा पुनः घटनास्थलमै फिर्ता लगेर छोडिएको थियो ।
घटनास्थलमा झडप हुँदा घाइते महिला प्रहरीको नाम सोध्ने क्रममा अन्य महिला प्रहरीहरूले आफूमाथि हातपात, कुटपिट गरी जिल्ला प्रहरी कार्यालयमा लगेर यातना दिएको पीडित पत्रकार कुँवरको भनाइ छ । आफूले पत्रकार परिचय पत्र देखिने गरी घाँटीमा झुण्ड्याई कर्तव्य पालना गर्ने क्रममा सुरक्षा निकायबाटै आफूमाथि दमन भएको उहाँको स्पष्टोक्ति छ । कुँवरको शरीरका विभिन्न स्थानमा नीलडाम र घाउ देखिएको छ । नेपाल पत्रकार महासंघ र अन्य विभिन्न मिडिया सम्बद्ध संस्थाहरूले पत्रकारमाथि प्रहरी दमनको विरोध गरेपछि उहाँहरूलाई छोडिएको हो ।
.png)