हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ भदौ । वि.सं. २०६३ सालमा समाजसेवी, बुद्धिजीवी सहित शिक्षण पेसामा संलग्न व्यक्तिहरूले कञ्चनपुरको बेलडाँडीमा स्थापना गरेको सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलडाँडीकै पुरानो सहकारी संस्था हो । उक्त सहकारीका संस्थापक एवं कार्य समितिले तीन÷चार वर्ष जति सञ्चालन गरे पनि कार्य व्यस्तताका कारण सेवा बन्द गरेपछि लामो समयसम्म सहकारी निष्क्रिय अवस्थामा रहेको थियो । करिब एक दशकसम्म निष्क्रिय रहेको उक्त सहकारी संस्थाको नयाँ कार्य समिति र व्यवस्थापक सहित कर्मचारीहरूमा सक्रिय युवाहरुको आगमनपछि अहिले उक्त सहकारीले नयाँ गति लिएको छ ।
गत पुस १५ गते सम्पन्न भएको सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलडाँडीको विशेष साधारण सभाले क्षितिज भट्टको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको थियो । सो नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश माली, सचिवमा सचिन कठायत, कोषाध्यक्षमा चित्र राज जोशी सहित सदस्यहरू रहनु भएको छ । गत माघ महिनादेखि पुनः सञ्चालनमा ल्याइएको सहकारी संस्थाले सहुलियत कर्जा, कृषि कर्जा, व्यापार कर्जा, सवारी साधन खरिदमा फाइनान्स सुविधा, मुद्दती बचत, दैनिक बचत, मासिक बचत, बाल बचत, व्यक्तिगत बचत जस्ता लोकप्रिय योजना लागु गरेको छ ।
गत वर्ष नयाँ कार्यसमिति गठन हुँदा रु. २ लाख घाटामा रहेको सहकारी संस्था पछिल्लो ८ महिनाको सङ्घर्षपछि अहिले मुनाफा छुन सफल भएको सहकारीका व्यवस्थापक शरदचन्द्र पाण्डेयले बताउनु भयो । सो सहकारीमा बेलडाँडी क्षेत्रकै ३ जनाले रोजगारी समेत पाएका छन् । सहकारीमा हाल दैनिक बचतकर्ता ३५० जना र मासिक बचतकर्ता २५ जना रहेका छन् । कुल शेयर पुँजी ५० लाख रहेको सहकारीले यसपछि लगत्तै २ करोडको शेयर पुँजी कायम गरिने बताइएको छ । हाल सहकारीले डेढ करोड रकम ऋण लगानी गरेको छ ।
बहुउद्देश्यीय सहकारी संस्था भएकोले निकट भविष्यमै कृषि तथा पशु क्षेत्रका कार्यक्रमलाई समेत अगाडि बढाउने योजना रहेको अध्यक्ष क्षितिज भट्टले बताउनु भयो । त्यस्तै, कोल्ड स्टोर, दुग्ध डेरी, एम्बुलेन्स सेवा सञ्चालन गर्ने र विभिन्न निकायसँग समन्वय गरी छोटो अवधिका सीपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष भट्टको भनाइ छ । सहकारीले निकट भविष्यमा कम्तीमा पनि कञ्चनपुर जिल्लाभर सबै पालिकाहरूमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ । त्यस्तै, प्रविधि क्षेत्रमा समेत सहकारीले मोबाइल बैङ्किङ लगायतका सेवा विस्तार गर्ने जनाएको छ । सबैको सहयोगबाट सहकारीले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि काम गर्ने अध्यक्ष भट्टले प्रतिबद्धता जनाउनु भएको छ ।