हिन्दु पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । पौराणिक मान्यता अनुसार कृष्ण पक्षको त्रयोदशी तिथिका दिन समुद्र मन्थनबाट पृथ्वीमा भगवान् धनवन्तरीको जन्म भएको थियो । यस पटकको धनतेरस व्रत कार्तिक २४ गते शुक्रबार (नोभेम्बर १०) मा परेको भए पनि धनवन्तरी जयन्ती कार्तिक २५ गते परेको छ । धनतेरसको पूजा विधि पनि आआफ्नै तरिकाले गरिन्छ जस्तै,– धनतेरसको दिन सबैभन्दा पहिले बिहान उठेर नित्यकर्म सकेर घरको उत्तर–पूर्व कुनामा भगवान् धनवन्तरीको पूजा गर्नु पर्दछ । ध्यान रहोस् कि पूजा गर्दा आफ्नो अनुहार सधैँ उत्तर, पूर्व वा उत्तर दिशा तर्फ फकिएको होस् । पूजा गर्दा पञ्चदेव अर्थात् सूर्यदेव, भगवान् गणेश, माता दुर्गा, भगवान् शिव र भगवान् विष्णुको मूर्ति स्थापना गर्नु पर्दछ । यसपछि भगवान् धनवन्तरीको षोडशोपचार पूजा गरी अन्त्यमा, संगता सिद्धिको लागि निश्चित रूपमा दक्षिणा चढाउनु पर्दछ । पूजा समापनपछि भगवान् धनवन्तरीको अगाडि धूप, दीप, बेसार, कुमकुम, चन्दन, अक्षता र फूल अर्पण गरी पूजा गरिन्छ । यसपछि घरको मुख्य प्रवेशद्वार वा आँगनमा दियो बाली यम देवताको नाममा दीप अवश्य बाल्नु पर्छ । धनतेरसको दिन घरमा आफ्नो मन पर्ने देवताको पूजा गर्दा स्वस्तिक, कलश, नवग्रह देवता, पञ्च लोकपाल र मातृकाको पूजा गर्न बिर्सनु हुँदैन ।
धन त्रयोदशी र धनतेरस भनिने यस दिन आयुर्वेदका प्रवर्द्धक धनवन्तरी तथा धनका देवता कुबेरको जन्मोत्सवका रूपमा मनाउने गरिन्छ । धनतेरसका दिन नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किन्ने प्रचलन छ । व्यक्तिले आफ्नो आवश्यकता र कतिपयले विलासिताका चिजबिज खरिद गर्नका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्ने गर्दछन् । उक्त दिन रत्न आभूषण वा बहुमूल्यका गरगहना किनमेल गर्नुपर्छ भन्ने प्रचलन भए पनि यो प्रचलन कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण छैन । तर, धनवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो भन्ने कथन एक थरीको छ । यस दिन कालो रङका सामान र कपडा किन्न नहुने धार्मिक मान्यता पनि छ ।
धनतेरसको पौराणिक कथा यस प्रकार रहेको छ
भगवान् धनवन्तरीलाई स्वास्थ्यका देवताको रूपमा पुजिन्छ । पौराणिक कथा अनुसार सागर मन्थनका बेला भगवान् धनवन्तरी अमृत कलश लिएर अवतरण गरेका हुनाले यस दिन भाँडाकुँडा किन्ने चलन प्रचलित भएको हो । अर्को किंवदन्ती अनुसार एक पटक भगवान् विष्णुले श्राप पाएपछि लक्ष्मीले तेह्र वर्ष किसानको घरमा बस्नुपर्ने भयो । माता लक्ष्मीको बासले गर्दा त्यो किसानको घर धन सम्पत्तिले भरियो । तेह्र वर्षपछि भगवान् विष्णु लक्ष्मीलाई लिन आउँदा किसानले लक्ष्मीलाई त्यहीँ बस्न अनुरोध गरे । यसबारे लक्ष्मीले किसानलाई भोलि त्रयोदशी रहेको भन्दै दीप सफा गरी दीप प्रज्वलन गरी पूजा गरेमा कृषकले ऐश्वर्य र धन दौलत प्राप्त हुने बताइन् । यसपछि किसानले माता लक्ष्मीले भनेजस्तै गरे । तब माताको कृपाले धन र वैभव प्राप्त हुन्छ । त्यस बेलादेखि धनतेरसको दिन लक्ष्मीको पूजा गर्ने चलन सुरु भएको जनविश्वास छ ।
-माहेश्वरी भट्ट
भीमदत्त नगरपालिका– १८, कञ्चनपुर ।