हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ सुदर्शनपुरमा माघ मिलन वृहत् सांस्कृतिक कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिका कार्यालयको प्रवर्द्धन, गोचाली कृषक समूहको आयोजना र श्री दर्शन युवा क्लबको व्यवस्थापनमा सोमबार वृहत् सांस्कृतिक कार्यक्रम गरिएको गोचाली कृषक समूहका अध्यक्ष रतुलाल चौधरीले जानकारी दिनुभयो । 'हमार समुदाय के अग्रज हुकन सम्मान, शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि ओ संस्कृति के विकास में उत्प्रेरणा जगैना हमार अभियान' भन्ने मूल नाराका साथ बेलौरी नगरपालिका वडा नम्बर ५ सुदर्शनपुर स्थित बागेश्वरी आधारभूत विद्यालयको प्राङ्गणमा सोमबार माघ मिलन माघ मिलन वृहत् सांस्कृतिक कार्यक्रम गरिएको हो ।

थारु समुदायको नयाँ वर्ष (थारु संवत् २६४७) को अवसरमा आयोजित माघ मिलन बृहत् सांस्कृतिक कार्यकमले सामाजिक एकता र बन्धुत्वको भावनालाई जगाएको वक्ताहरूको भनाइ छ । २०६८ सालदेखि श्री दर्शन युवा क्लबले सञ्चालन गर्दै आएको माघ मिलन सांस्कृतिक कार्यक्रमलाई पछिल्लो समय गोचाली कृषक समूहले निरन्तरता दिएको र क्लबले व्यवस्थापनको जिम्मेवारी पूरा गरिरहेको उक्त गाउँका भलमन्सा किसन गम्वाले जानकारी दिँदै क्लबका संस्थापक पदाधिकारी, सदस्य र सल्लाहकार लगायत सहयोगी सबैलाई पुनः स्मरण गर्नुभयो ।

कार्यक्रममा मघौटा, झुम्रा, कठघोरी लगायतका नृत्यहरू, सांस्कृतिक झाँकी तथा गीतसङ्गीत र कलात्मक प्रस्तुति राखिएको थियो । सो कार्यक्रममा पूर्व खानेपानी मन्त्री विना मगर, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, वडाध्यक्षहरू लाल बहादुर चौधरी र प्रकाश श्रेष्ठ, नगर प्रवक्ता हर्कबहादुर भुल, वडा सदस्यहरू, भलमन्सा, गाउँका भद्रभलादमी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । सबैले एकापसमा शुभकामना आदानप्रदान तथा थारु परिकारको स्वाद लिएको बताइएको छ ।
पश्चिम तराइका जिल्लाहरूमा थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने माघीको रौनक छ । गीतसङ्गीत, खानपिन र नयाँ नेतृत्व चयन गरिने परम्परालाई निरन्तरता दिँदै थारु समुदाय माघी मनाइरहेको देखिन्छ । कञ्चनपुरका थारु बस्तीमै पुगेर तयार गरिएको स्थलगत रिपोर्ट ...