हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ साउन । कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण स्थलको सफाइ सुरु गरिएको छ । नेपाल सरकार र भारत सरकारबीचको सहकार्यमा भारतीय लगानीमा निर्माण हुन लागेको दोधाराचाँदनी सुक्खा बन्दरगाहको जिम्मा सिओएमटी कन्स्ट्रक्सन प्रालिले पाएको छ । नेपाल सरकारले बन्दरगाहको लागि आवश्यक स्थलमा रहेका १ हजार ७ सय ५ वटा रुख हटाएर जमिन खाली गरेपछि भारतीय निर्माण कम्पनीले मंगलबारदेखि साइट क्लियरेन्सको कार्य प्रारम्भ गरेको हो ।
नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलका अनुसार निर्माण स्थलको सफाइ तथा व्यवस्थापनको काम प्रारम्भ भइसकेको छ । यसको शिलान्यास भने यथाशीघ्र नेपाल र भारतका प्रधानमन्त्री स्तरबाट गरिने छ । पहिलो चरणमा २५ हेक्टर क्षेत्रफलमा आवश्यक पूर्वाधारहरू निर्माण गरिने छन् । गोदाम, भन्सार जाँच, क्वारेनटाइन, इमिग्रेसन, सुरक्षा व्यवस्थापन लगायतका संरचना निर्माण गरिने छन् । वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक अध्ययन प्रतिवेदनहरू समेत स्वीकृत भइसकेका छन् ।

भारतीय पक्षको नेतृत्व गरिरहनु भएका सिओएमटी कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुनिल शर्माका अनुसार झण्डै २ अर्ब ३७ करोड भारतीय रुपैयाँको लागतमा तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ । यो परियोजना सन् २०२३ जुन १ मा नेपाल र भारत सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार अघि बढाइएको हो । भारत सरकारले तोकेको मापदण्डअनुसार निर्माण कार्य सम्पन्न गरिने जानकारी दिइएको छ ।
सुदूरपश्चिमका अग्रणी युवा उद्यमी एवम् औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डका सदस्य तेजबहादुर चन्दले सुक्खा बन्दरगाह निर्माणको प्रारम्भसँगै सुदूरपश्चिम क्षेत्रको समग्र आर्थिक उत्थानको सम्भावना खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो नाका नेपालकै छोटो व्यापारिक नाका हो । यहाँबाट भारतको औद्योगिक क्षेत्र रुद्रपुर दुई घण्टाको दूरीमा छ । अब हामीले आयात मात्र होइन, निर्यात केन्द्रित सोच विकास गर्नुपर्छ ।”

कञ्चनपुरका युवा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले दोधाराचाँदनी सुख्खा बन्दरगाहसँगै दैजीछेला औद्योगिक क्षेत्रको निर्माण कार्य समयमै सम्पन्न भई सञ्चालनमा ल्याउन सके सुदूरपश्चिमको सम्भावनालाई व्यवस्थित रूपमा विस्तार गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाह र दैजीछेला औद्योगिक क्षेत्रको निर्माणसँगै पश्चिम नेपाल औद्योगिक र व्यापारिक विकासको केन्द्र बन्दै जानेछ ।”
दुई दशकयता चर्चामा रहेको दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण योजना अहिले १८ वर्षपछि वि.सं. २०८२ मा उद्योग मन्त्री दामोदर भण्डारीको कार्यकालमा फिल्डमै कार्य प्रारम्भ भएपछि स्थानीय वासीमा आशा पलाएको छ । युवा नेता प्रवीण बोगटीले सरकारलाई आग्रह गर्दै भन्नुभयो, “अब सरकारले अन्यत्र ध्यान नदिई यही महत्त्वाकाङ्क्षी योजनालाई प्राथमिकता दिन आवश्यक छ । सुक्खा बन्दरगाहसँगै दैजीछेला औद्योगिक क्षेत्रको पूर्वाधार विस्तार गर्न सके सुदूरपश्चिमको समृद्धि सुनिश्चित हुनेछ ।”