हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० पुस । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीको पूर्वसन्ध्यामा पश्चिम तराईका थारु बस्तीहरूमा यसको पूर्वतयारी भइरहेको छ । माघी पर्वको अघिल्लो दिनलाई थारु समुदायले अत्यन्तै महत्वपूर्ण मान्ने गर्छन् र यस दिन विभिन्न परम्परागत कार्यहरू विधिपूर्वक सम्पन्न गर्ने परम्परा रहिआएको छ ।

माघीको तयारी स्वरुप थारु समुदायका परिवारहरूले घर आँगन सफा गरी लिपपोत गर्ने गर्दछन् । यसलाई नयाँ वर्ष र नयाँ जीवनशैलीको सुरुवातको प्रतीकका रूपमा लिइन्छ । यस अवसरमा विवाह भइसकेका छोरी बहिनीहरूलाई माइतीघरमा बोलाउने चलन पनि रहेको छ । छोरीचेली माइतीघरमा भेला भई सुखदुःख साटासाट गर्नु माघीको सामाजिक पक्षको महत्वपूर्ण अङ्ग मानिन्छ ।

माघीको अघिल्लो दिन थारु बस्तीहरूमा सामूहिक रूपमा बंगुर काट्ने परम्परा पनि रहिआएको छ । काटिएको बंगुरको मासु गाउँभरि बाँड्ने र घरघरमा विभिन्न परिकार बनाएर पकाउने चलन छ । यसलाई आपसी सद्भाव, सहकार्य र समुदायबीचको एकताको प्रतीकका रूपमा लिने गरिन्छ । यसैगरी ढिक्री, माछा, मासु लगायतका परम्परागत खानाका परिकारहरू तयार गरिन्छन् ।
महिलाहरू दिनभरि व्यस्त भएर माघीका लागि विशेष परिकार बनाउने गर्दछन् भने पुरुषहरू गाउँका सामूहिक काममा जुट्ने गर्दछन् । थारु समुदायमा माघी पर्व सामाजिक पुनर्मिलन, सांस्कृतिक पहिचान र नयाँ वर्षको आरम्भका रूपमा पनि लिइन्छ । माघीको अघिल्लो दिन गरिने यी सबै तयारीहरूले पर्वलाई अझ अर्थपूर्ण र उल्लासमय बनाउने गर्दछ ।
भिडियो रिपोर्ट हेर्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोस् ।
https://www.facebook.com/share/v/17ohCY9oPG/