हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, ०४ चैत । नेपालमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने उद्देश्यसहित लघुवित्त संस्थाहरूले ग्रामीण तहसम्म वित्तीय साक्षरता अभियानलाई तीव्र बनाएका छन् । पछिल्लो समय बचत, कर्जा व्यवस्थापन र उद्यमशीलता विकासलाई लक्षित गर्दै सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको सरोकारवालाहरू बताउँछन् ।

यसै सन्दर्भमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुरको बेलौरी शाखामार्फत वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी तथा वित्तीय सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मंगलबार आयोजित कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी ले वित्तीय अनुशासन र बचत संस्कारले दीर्घकालीन आर्थिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले लघुवित्तबाट लिइने कर्जा उत्पादनमूलक क्षेत्रमा प्रयोग हुन सके मात्र आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार एकल ग्राहक सिमा भित्र रही सेवा विस्तार भइरहेको जानकारी दिएका छन् । लघुवित्त क्षेत्रलाई व्यवस्थित र जोखिम नियन्त्रणमुखी बनाउन केन्द्रीय बैंकले पछिल्लो समय नियमन कडाइ गर्दै आएको छ । समाजसेवी हरेन्द्र सिंह बिष्टले लघुवित्त संस्थाहरूले सदस्यहरूको बचत परिचालन गर्दै साना उद्यम र आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँका अनुसार बचत र कर्जाको सही सदुपयोगले आर्थिक सशक्तिकरणमा प्रत्यक्ष योगदान पुर्याउँछ ।

कार्यक्रमअन्तर्गत उत्कृष्ट बचतकर्ता र शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो । आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट बचतकर्ताका रूपमा केन्द्र नम्बर ७६ की सदस्य गीता भट्टलाई सम्मान गरिएको छ । त्यसैगरी शैक्षिक सत्र २०८२ मा उत्कृष्ट अंकसहित +२ उत्तीर्ण गर्ने केन्द्र नम्बर १०२ की सदस्य रामजानकी राना थरुनीकी छोरी पवित्रा कुमारी रानालाई सम्मानपत्रसहित रु. ५ हजार नगद छात्रवृत्ति प्रदान गरिएको छ ।

संस्थाका सेयर सदस्य तथा ज्येष्ठ नागरिक पार्वती बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा अत्तरिया स्टेशन प्रमुख खुमबहादुर खड्का, धनगढी शाखा प्रमुख भोजराज भट्ट, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका कर्मचारी निराजन साउँदले स्वागत मन्तव्य राख्नुभएको थियो भने बेलौरी शाखा प्रमुख गणेश प्रसाद भट्टले नियामक निकायको निर्देशनअनुसार सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै सदस्यहरूलाई वित्तीय अनुशासन कायम गर्न सुझाव दिनुभयो । त्यसैगरी वार्षिक केन्द्र बैठक मूल्यांकनका आधारमा छनौट गरिएका पाँच उत्कृष्ट केन्द्रलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

नेपालमा लघुवित्त संस्थाहरूले ग्रामीण तथा विपन्न समुदायमा बैंकिङ पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । तर पछिल्लो समय अत्यधिक कर्जा विस्तार, दोहोरो लगानी र ऋणीको भुक्तानी क्षमतासम्बन्धी समस्या पनि देखिन थालेका छन् । यसै कारण नेपाल राष्ट्र बैंकले एकल ग्राहक सिमा, ब्याजदर नियन्त्रण र पारदर्शितामा जोड दिँदै नियमन कडाइ गरेको छ । विज्ञहरूका अनुसार वित्तीय साक्षरता अभावकै कारण धेरै ऋणीहरू कर्जा व्यवस्थापनमा समस्या भोगिरहेका छन् ।

यस परिप्रेक्ष्यमा लघुवित्त संस्थाहरूले सेवा विस्तारसँगै वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकतामा राख्नु अपरिहार्य बन्दै गएको छ । ग्रामीण तहमा बचत प्रवर्द्धन, उत्पादनमूलक कर्जा उपयोग र उद्यमशीलता विकासमार्फत आर्थिक समावेशीकरणलाई बलियो बनाउने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित नभई व्यवहारिक रूपान्तरणसँग जोडिन सके मात्र दीगो आर्थिक विकास सम्भव हुने देखिन्छ ।