हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिकामा २१ दिवसीय समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गरिएको छ । विपद् उद्धार तथा व्यवस्थापन कार्यलाई प्रभावकारी, व्यवस्थित र छिटोछरितो बनाउन दक्ष तथा प्रशिक्षित स्थानीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल र बेलौरी नगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त तालिममा नगरपालिकाका विभिन्न वडाबाट २१ जना पुरुष र ९ जना महिला गरी जम्मा ३० जना उत्साही युवा सहभागी भएका छन् । तालिमलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन क्षेत्रमा विशेष दक्षता हासिल गरेका ७ जना सशस्त्र प्रहरी कर्मचारी प्रशिक्षकका रूपमा खटिएका छन् ।

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहले पूर्वतयारीलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रशिक्षित स्वयंसेवकहरू विपद्को समयमा पहिलो उद्धारकर्ता बन्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले सुदूरपश्चिम प्रदेश प्राकृतिक विपद्का हिसाबले संवेदनशील क्षेत्र भएकाले समुदाय स्तरमै तयारी आवश्यक रहेको बताउनुभयो । उहाँले विपद् आउँदा सरकारी संयन्त्र मात्र पर्याप्त नहुने भएकाले स्थानीय युवाको सहभागिता अत्यन्त महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन क्षेत्रमा आफ्नो क्षमता निरन्तर अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय समुदायसँग सहकार्य गरेर प्रशिक्षित जनशक्ति उत्पादन गर्नु समयको आवश्यकता भएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेतले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने स्थानीय जनशक्ति अभाव पूर्ति गर्न तालिम उपयोगी हुने बताउनुभयो । उहाँले तालिमपछि सहभागीहरू आफ्ना टोल र समुदायमा समेत सचेतना फैलाउने अपेक्षा व्यक्त गर्नुभयो ।

बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले विपद् व्यवस्थापन सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै महिला तथा युवाको सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको बताउनुभयो ।

कार्यक्रमका सहजकर्ता तथा बेलौरी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयले तालिमको पाठ्यक्रम अन्तर्गत सैद्धान्तिकतर्फ ५४ पिरियड र व्यावहारिकतर्फ ९ पिरियड गरी कुल ६३ पिरियड सञ्चालन गरिने जानकारी दिनुभयो ।
तालिममा नेपालको विपद् व्यवस्थापन प्रणाली, प्राथमिक उपचार सहयोगी (फर्स्ट एड), बाढी, पहिरो तथा डुबान उद्धार, अग्नि नियन्त्रण तथा वन डढेलो व्यवस्थापन, डोरीमार्फत उद्धार अभ्यास (रोप रेस्क्यु), भूकम्पीय तथा सडक दुर्घटना जोखिम न्यूनीकरण लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।

स्थानीय समुदायलाई विपद्को समयमा थप सजग, सक्षम र आत्मनिर्भर बनाउने लक्ष्यसहित सुरु गरिएको यो तालिमले बेलौरी क्षेत्रमा विपद् प्रतिकार्य क्षमतामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।
