हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले विपद्को समयमा सरकारी संयन्त्र मात्र पर्याप्त नहुने भएकाले समुदाय स्तरमै दक्ष र प्रशिक्षित जनशक्ति तयार गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिमको शुक्रबार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री सार्कीले विपद् व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता र स्थानीय तहको तयारी अत्यन्त महत्त्वपूर्ण हुने बताए । उनले भूकम्प, बाढी, डुबान, आगलागी लगायतका प्राकृतिक तथा मानवीय विपद् जुनसुकै बेला आउन सक्ने भएकाले त्यसको प्रभाव न्यूनीकरणका लागि स्थानीय स्तरमै सक्षम स्वयंसेवक तयार गर्न आवश्यक रहेको उल्लेख गरे ।
“विपद् आउँदा सबैभन्दा पहिला समुदाय नै प्रभावित हुन्छ । त्यसैले समुदायभित्रै खोज, उद्धार र प्राथमिक उपचार गर्न सक्ने दक्ष जनशक्ति तयार हुनु आवश्यक छ,” मन्त्री सार्कीले भने, “यस्ता तालिमले समुदायलाई आत्मनिर्भर, सुरक्षित र विपद्प्रति सजग बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।”
बेलौरी नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले गुल्म बेलौरीमा सञ्चालन गरेको तालिममा नगरपालिकाका विभिन्न वडाबाट छनोट गरिएका २९ जना स्वयंसेवक सहभागी भएका थिए । उनीहरूलाई भूकम्प, बाढी, आगलागी तथा अन्य विपद्का समयमा खोज तथा उद्धार, प्राथमिक उपचार, जोखिम न्यूनीकरण, राहत व्यवस्थापन, समन्वय तथा विपद् प्रतिकार्यसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।
समापन समारोह बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वैद्यनाथ बाहिनी नं. ७ अत्तरियाका बाहिनीपति दिग विजय सुवेदी, नगर उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बेलौरीका प्रमुख योग्य बस्नेत, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी, PESWAN तथा Practical Action का प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख जोगराम चौधरीले विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन समुदायमा दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए । उनले विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन यस्ता तालिम महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे । “विपद्का बेला पहिलो आवश्यकता उद्धार नै हो,” उनले भने, “तालिमबाट प्राप्त ज्ञान र सीपले उद्धार कार्यलाई थप प्रभावकारी बनाउनेछ । बेलौरी नगरपालिकाले विपद्का लागि आवश्यक सामग्री जोखिमयुक्त वडाहरूमा पठाइसकेको छ र आवश्यक पूर्वतयारीलाई निरन्तरता दिएको छ ।”
त्यसैगरी वैद्यनाथ बाहिनी नं. ७ अत्तरियाका बाहिनीपति दिग विजय सुवेदीले विपद् व्यवस्थापनमा सुरक्षा निकाय र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले समुदाय स्तरमा दक्ष स्वयंसेवक तयार हुँदा विपद्को समयमा खोज, उद्धार तथा राहत वितरण कार्य छिटो, प्रभावकारी र व्यवस्थित हुने उल्लेख गरे । “विपद् व्यवस्थापन कुनै एक निकायको मात्रै जिम्मेवारी होइन,” सुवेदीले भने, “सुरक्षा निकाय, स्थानीय सरकार र समुदायबीचको समन्वय बलियो भएमा जनधनको क्षति न्यून गर्न सकिन्छ । यस्ता कार्यक्रमले समुदायको क्षमता अभिवृद्धि गर्दै विपद् प्रतिकार्यलाई थप सुदृढ बनाउँछन् ।”
कार्यक्रमका सभापति तथा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले नगरपालिकाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले तालिमबाट दीक्षित स्वयंसेवकहरू समुदायका लागि उदाहरणीय शक्ति बन्ने विश्वास व्यक्त गरे । “तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदायको सुरक्षाका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्छ,” नगरप्रमुख चौधरीले भने, “विपद्का बेला प्रशिक्षित स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । नगरपालिकाले आगामी दिनमा पनि यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिनेछ ।”
कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढ्दै गइरहेका बेला समुदायलाई सक्षम, जिम्मेवार र आत्मनिर्भर बनाउन यस्ता तालिम अपरिहार्य भएको बताएका थिए । तालिम सम्पन्न भएसँगै २९ जना स्वयंसेवकहरूलाई दीक्षित गरिएको छ । प्रशिक्षार्थीहरूले प्राप्त ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्दै विपद्को समयमा खोज तथा उद्धार, प्राथमिक उपचार र जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा तालिम सञ्चालनमा योगदान पुर्याउने प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डेयले गरेका थिए । समापनसँगै बेलौरी नगरपालिकाले तालिममा सहभागी सम्पूर्ण स्वयंसेवकहरूलाई बधाई ज्ञापन गर्दै विपद्को समयमा नगरवासीको धनजनको सुरक्षामा उनीहरूको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेको छ । साथै सशस्त्र प्रहरी बलले स्थानीय तहसँगको सहकार्यमा आगामी दिनमा पनि समुदायको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।