हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आयोजित नगर स्तरीय युवा सम्मेलन २०२६ ले वातावरण संरक्षण, जलवायु उत्थानशीलता तथा सरसफाइ प्रवर्द्धनमा युवाको नेतृत्वलाई संस्थागत गर्दै "जलवायु उत्थानशील युवा मञ्च" गठन गरेको छ । विश्व वातावरण दिवसको अवसरका अवसरमा शनिबार नगरपालिकाको सभाहलमा आयोजित सम्मेलनले जलवायु परिवर्तन, पारिस्थितिक प्रणाली, वातावरणीय प्रदूषण, मानव-वन्यजन्तु सहअस्तित्व, युवा पलायन तथा समुदाय स्तरीय विकासका विविध विषयमा गहन छलफल गर्दै युवालाई परिवर्तनका संवाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

विश्व वातावरण दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा "Inspired by Nature. For Climate. For Our Future" तथा "प्रकृतिबाट प्रेरणा लिऔँ, जलवायु जोगाऔँ, भविष्य सुरक्षित बनाऔँ" भन्ने भावनाअनुरूप आयोजना गरिएको सम्मेलन शुक्लाफाँटा नगरपालिकाको समन्वय तथा सहकार्यमा निड्स नेपालद्वारा सञ्चालित विभिन्न परियोजनाको संयुक्त साझेदारीमा सम्पन्न भएको हो । सम्मेलनमा नगरपालिकाका सबै वडाबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै युवा सहभागिता गराइएको थियो ।

कार्यक्रमको उद्घाटन सत्र निड्स नेपालका उपाध्यक्ष तारा थापा धामीको अध्यक्षतामा सम्पन्न भएको थियो । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा प्रमुख अतिथि रहेका कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्त, प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, लियो डिस्ट्रिक्ट काउन्सिलका निवर्तमान अध्यक्ष मदनराज गिरी, युवा सञ्जाल बेलौरीका अध्यक्ष विष्णुदत्त अवस्थीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै निड्स नेपालका कार्यक्रम संयोजक हेमन्त शाहीले वातावरणीय सङ्कट, जलवायु परिवर्तन तथा समुदाय स्तरमा बढिरहेका चुनौतीहरूको सामना गर्न युवाको नेतृत्व अपरिहार्य रहेको बताए । उनले वातावरण संरक्षणलाई केवल सरकारी कार्यक्रमका रूपमा नभई समुदाय केन्द्रित अभियानका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखे ।

उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख रणबहादुर महराले वातावरण संरक्षण र विकासबीच सन्तुलन कायम गर्न नसकिए भविष्यमा गम्भीर सङ्कट उत्पन्न हुने चेतावनी दिए । उनले जलवायु परिवर्तनको असर स्थानीय तहसम्म स्पष्ट रूपमा देखिन थालेको उल्लेख गर्दै युवाहरूलाई वातावरण संरक्षण अभियानको अग्रभागमा उभिन आग्रह गरे ।

नगर उपप्रमुख कल्पना पन्तले स्थानीय सरकार वातावरण संरक्षण, सरसफाइ र युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै यस्ता कार्यक्रमले युवाहरूमा नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।

लियो डिस्ट्रिक्ट काउन्सिलका निवर्तमान अध्यक्ष मदनराज गिरीले समाज रूपान्तरणका हरेक अभियानमा युवाको सहभागिता निर्णायक हुने उल्लेख गर्दै वातावरणीय अभियानलाई व्यवहारमा उतार्न युवाहरू सङ्गठित हुनुपर्ने बताए ।

युवा सञ्जाल बेलौरीका अध्यक्ष विष्णुदत्त अवस्थीले युवाहरूलाई सामाजिक अभियान, वातावरण संरक्षण तथा नेतृत्व विकासका कार्यमा जोडिन आग्रह गर्दै युवा शक्ति सही दिशामा परिचालन भए समाज परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे ।

कार्यक्रमका निड्स नेपालका उपाध्यक्ष तारा थापा धामीले वातावरणीय सङ्कट विश्वव्यापी चुनौतीका रूपमा रहेको उल्लेख गर्दै युवाको सक्रिय सहभागिताविना दिगो विकासका लक्ष्य हासिल गर्न नसकिने बताइन् ।

उद्घाटन समारोहपछि प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले युवाहरूको सहभागितामा नगर परिसरभित्र फलफूलका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेका थिए । वृक्षारोपणमार्फत वातावरण संरक्षणको सन्देश व्यवहारमै कार्यान्वयन गरिएको सहभागीहरूले बताएका छन् ।

सम्मेलनअन्तर्गत सञ्चालन गरिएका विषयगत सत्रहरूमा जिल्ला न्यायाधीश दुर्गाप्रसाद भण्डारीले "युवा सहभागिताका अवसर तथा प्रभाव र नेपालमा युवा पलायनका चुनौती" विषयमा सहजीकरण गरेका थिए । उनले युवालाई अवसर खोज्न मात्र होइन, अवसर सिर्जना गर्न सक्षम बन्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले विश्व वातावरण दिवसको सान्दर्भिकता, युवाशक्तिको वर्तमान अवस्था, स्थानीय प्रभाव तथा स्थानीय सरकारका प्राथमिकताबारे प्रस्तुति दिएका थिए । उनले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न स्थानीय सरकार र युवाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
वातावरण क्षेत्रका अध्येता केशवराज पन्तले जलवायु परिवर्तन, अनुकूलन क्षमता, पारिस्थितिक प्रणाली तथा स्थानीय प्रभावबारे विस्तृत प्रस्तुति दिएका थिए । पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, डुबान, खडेरी, वन डढेलो तथा जैविक विविधतामाथि परेको असरबारे चर्चा गर्दै उनले वातावरणीय मुद्दालाई विकास योजनासँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा निड्स नेपालका कार्यक्रम संयोजक सरस्वती पुरी बमले वातावरण संरक्षण, सरसफाइ, प्लास्टिकजन्य प्रदूषणका असर, न्यूनीकरणका उपाय तथा समुदायमा सरसफाइ अभियान सञ्चालनमा युवाको भूमिकाबारे प्रस्तुति दिएकी थिइन् । उनले एक पटक प्रयोग हुने प्लास्टिकजन्य सामग्री वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको बताउँदै त्यसको प्रयोग न्यूनीकरण गर्न युवाहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन् ।
युवा अभियन्ता दुर्गा बडुवाल र विष्णुदत्त अवस्थीले युवा नेतृत्व, सहभागिता, जिम्मेवारी तथा सामाजिक उत्तरदायित्वका विषयमा सामूहिक छलफल सञ्चालन गरेका थिए । छलफलमा सहभागी युवाहरूले स्थानीय स्तरका समस्या पहिचान, समाधान र अभियान सञ्चालनका विषयमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको महत्त्वपूर्ण उपलब्धिका रूपमा जलवायु उत्थानशील युवा मञ्च गठन गरिएको छ । निड्स नेपालका हेमन्त शाहीको सहजीकरणमा १२ वटै वडाबाट छनोट भई आएका युवा प्रतिनिधिहरूबीच व्यापक छलफलपछि सर्वसम्मत रूपमा तदर्थ समिति गठन गरिएको हो ।
गठित समितिको संयोजकमा सन्तोष धामी, सह-संयोजकमा सपना विष्ट तथा सचिवमा सरस्वती सार्की चयन भएका छन् । सदस्यहरूमा कविराज भट्ट, रेखा साउद, शिव डगौरा, आरती राना, मदनबहादुर धामी, सुनिता चौधरी, रमेश साहु र पप्पु चौधरी रहेका छन् । नवगठित मञ्चले वातावरण संरक्षण अभियान सञ्चालन, वृक्षारोपण, सरसफाइ कार्यक्रम, जलवायु परिवर्तनसम्बन्धी सचेतना, स्थानीय सरकारसँग समन्वय तथा समुदाय स्तरीय वातावरणीय अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

सम्मेलनको समापन सत्रमा सहभागी युवाहरूले वातावरण संरक्षण तथा जलवायु उत्थानशील समाज निर्माणका लागि ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए । प्रतिबद्धतामा प्राकृतिक स्रोतहरूको दिगो उपयोग, प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण, वातावरणमैत्री विकल्पको प्रवर्द्धन, नियमित सरसफाइ अभियान, फोहोरको वर्गीकरण तथा पुनर्चक्रण, वातावरणीय जनचेतना अभिवृद्धि, वृक्षारोपण तथा जैविक विविधता संरक्षण, मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन, स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य, युवा नेतृत्वमा दिगो अभियान सञ्चालन तथा सामाजिक कुरीति, कुसंस्कार र लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषय समेटिएका छन् ।

"आजको हाम्रो सानो प्रयास, भोलिको स्वच्छ, हरित र सुरक्षित भविष्य" भन्ने मूल भावनासहित युवाहरूले वातावरण संरक्षणलाई आफ्नो व्यक्तिगत तथा सामाजिक जिम्मेवारीका रूपमा ग्रहण गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको अन्त्यमा निड्स नेपालका परियोजना संयोजक विनोद सिंह कडाराले सहभागी युवाहरूलाई सामूहिक प्रतिबद्धता गराउँदै प्लास्टिक प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण तथा सरसफाइ प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे । साथै नवगठित युवा मञ्चका तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरिएको थियो ।
निड्स नेपालका परियोजना संयोजक विनोद सिंह कडाराले सञ्चालन तथा सहजीकरण गरेको सम्मेलनले वातावरण संरक्षण, जलवायु अनुकूलन, सरसफाइ प्रवर्द्धन तथा मानव-वन्यजन्तु सहअस्तित्व जस्ता विषयलाई युवामैत्री अभियानका रूपमा अघि बढाउने स्पष्ट सन्देश दिएको सहभागीहरूको भनाइ छ । सम्मेलनबाट गठन भएको जलवायु उत्थानशील युवा मञ्चले आगामी दिनमा शुक्लाफाँटा नगरपालिकाभित्र वातावरणीय अभियान, सचेतनामूलक कार्यक्रम तथा जलवायु उत्थानशील समुदाय निर्माणका गतिविधिहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।