हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्र जन्मेदेखि ५९ महिनामुनिका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि घोषणा गरिएको हो ।
नगर प्रमुख हेमराज ओझाको अध्यक्षता तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख रामकुमारी राना, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दीपेन्द्रसिंह रावल, खोप फोकल पर्सन जनक बहादुर कुँवर, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।
नगरपालिकाले पूर्णखोप सुनिश्चितताका लागि वडा तहदेखि घरधुरी सर्वेक्षण, खोप अभिलेख परीक्षण, छुटेका बालबालिकाको पहिचान तथा विशेष खोप सत्र सञ्चालन गरेको जनाएको छ । स्थानीय स्वास्थ्य संस्था, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा वडा खोप समन्वय समितिको सक्रियतामा खोपबाट छुटेका बालबालिकालाई समेत पूर्ण खोपको पहुँचमा ल्याइएको थियो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख रावलले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन तथा विभिन्न संक्रामक रोगबाट जोगाउन प्रभावकारी भूमिका खेलेको बताउँदै समुदायको निरन्तर सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो । खोप फोकल पर्सन कुँवरले नियमित अनुगमन, अभिलेख व्यवस्थापन र ‘खोज र खोप’ अभियानमार्फत कुनै पनि बालबालिका खोप सेवाबाट बाहिर नरहोस् भन्ने लक्ष्यमा काम गरिएको बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले ‘खोज र खोप’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएकै कारण सबै बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याउन सफल भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि अभिलेख व्यवस्थापन, अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
नगर उपप्रमुख द्रोपती रानाले बालबालिकाको स्वास्थ्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै नियमित खोप सेवाको पहुँचलाई थप प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन र समन्वयमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति कञ्चनपुरकी उपप्रमुख रामकुमारी रानाले पूर्ण खोप सुनिश्चितता घोषणा बालबालिकाको स्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको दिगोपना कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य निरन्तर रहनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख बोहराले स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको समन्वयले यो उपलब्धि सम्भव भएको बताउँदै अब यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भयो ।
कार्यक्रमको समापनमा नगर प्रमुख हेमराज ओझाले पूर्ण खोप सुनिश्चितता घोषणा कृष्णपुर नगरपालिकाको महत्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ नियमित अनुगमन, जनचेतना तथा स्वास्थ्य सेवा सुदृढीकरणलाई निरन्तरता दिइने बताउनु भयो ।